आफ्नै दिदीले गरिन् डोनाल्ड ट्रम्पको आलोचना

विराटनगर, ८ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा आफ्नै दिदी मेरियान ट्रम्प ब्यारीले गम्भीर आलोचना गरेकी छन् ।

ट्रम्पकी दिदी संघीय अदालतकी पूर्व न्यायाधीश हुन् । उनले ट्रम्प कुनै सिद्धान्त नै नरहेको झुटो व्यक्ति रहेको भन्दै गरेको आलोचना अहिले अमेरिकामा धेरै चर्चामा छ । पारिवारिक हिसाबले भएको आलोचनालाई अमेरिकामा गम्भीर र चासोपूर्वक रुपमा हेरिएको छ ।

ब्यारीले भाइकाविरुद्ध बोलेको रेकर्ड राष्ट्रपति ट्रम्पकी भतिजी मेरी ट्रम्पले रेकर्ड गरेको खुलेको छ । पारिवारिक नाता सम्बन्धबाट लागेको आक्षेपको रेकर्ड बाहिरिएपछि अहिले उक्त कुरा सनसनी रुपमा फैलिएको छ ।

गत महिला ट्रम्पका बारेमा शनसनी पूर्ण पुस्तक प्रकाशित गरेकी मेरी ट्रम्पले आफ्नी फूपुले ट्रम्पका बारेमा बोलेको कुरा कानूनी झमेलाबाट आफूलाई बचाउनका लागि रेकर्ड गरेको बताएकी छन् । सार्वजनिक भएको अडियो रेकर्डमा ट्रम्पका बारेमा ब्यारीले भनेकी छन्, ‘उसका गड्याम ट्वीट र झुटहरु, हे ईश्वर । यो धोकाधडी र क्रुरता हो ।’

अडियो रेकर्डका बारेमा सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले खबर प्रकाशित गरेको थियो । त्यसपछि सो रेकर्ड एसोसियट प्रेसले पनि प्राप्त गरेको थियो ।

पछिल्लो पारिवारिक तिक्तता र आफ्ना बारेमा सार्वजनिक भएका नमिठो अभिव्यक्तिको प्रतिक्रिया ट्रम्पले ह्वाइट हाउस मार्फत वक्तव्य जारी गरेर दिएका छन् । उनले भनेका छन्, ‘हरेक दिन फरक कुरा आउँछ, कसलाई चासो छ ।’

अडियोमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासी नीतिको गम्भीर आलोचना गरेकी छन् । यस्तै मेरी ट्रम्पले पुस्तकमा ट्रम्पले आफ्नो परीक्षा आफै नदिने गरेको उल्लेख गरेकी थिइन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेनको सामना गर्न लागेका ट्रम्पलाई पछिल्लो समय परिवारका सदस्यको अभिव्यक्ति र असहयोगले थप समस्यामा पारेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Loading...