सिंहदरबारको प्रबलीकरण यसै वर्ष सकिने

विराटनगर, ८ भदौ । भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ ।

भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरेको थियो । भवनको पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ भने बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण तीन चरणमा भइरहेको जानकारी दिए । भवनको चार मोहडामध्ये उत्तरी, पूर्वी र दक्षिणी मोहडाको प्रबलीकरण सम्पन्न भइसकेको छ । पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएको उनले बताए ।

विसं २०३० मा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो । पहिलो चरणअन्तर्गत उत्तरी, पूर्वी र दक्षिणी मोहडा, दोस्रो चरणअन्तर्गत पश्चिमी मोहडा र तेस्रो चरणअन्तर्गत विद्युतीकरण, आधुनिक फर्निचर, डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरणको जडान, बगैँचा निर्माणलगायतको कार्य गरिने प्रमुख कार्यकारी अधिकृत
ज्ञवालीले बताए ।

पश्चिमी मोहडाको पुनर्निर्माण कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसको महामारीका कारण लक्ष्य पूरा हुन नसक्ने देखिएको बताउँदै उनले यो मोहडाको पुनर्निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गरिने जानकारी दिए । अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु तथा आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।

सिंहदरबारको पश्चिमी खण्ड राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित सिंहदरबारको २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणको पहिलो चरणको काम दुई वर्षअघि र दोस्रो तथा तेस्रो चरणको काम छ महिनाअघि सुरु भएको हो ।

पुनर्निर्माण सम्पन्न भइसकेको उत्तरी, पूर्वी र दक्षिणी मोहडाको भवनमा आउँदो कात्तिकभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण गरिने ज्ञवालीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...