पहिलो हाफमा पीएसजी र बायर्नको बराबरी

एजेन्सी, ८ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा अहिले उपाधि भिडन्त भइरहेको छ ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा जारी खेलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेलिरहेका छन् ।

खेलका पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवैले टोली गोल गर्न प्रयासरत देखिएका छन् ।

१९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

खेलको २१औं मिनेटमा लेवान्डोस्कीले गोल गर्ने मौका गुमाए । उनको प्रहार गोल पोस्टमामा लागेर फर्किएको थियो ।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको प्रहार नाभासले ब्लक गरेका थिए । ग्नाब्रीकाे प्रहारलाई लेवान्डाेस्कीले गोलकाे दिशा दिन खाेजेका थिए । तर, नाभासले बल पुस गर्दै उनकाे प्रयास बिफल बनाइदिए ।

यस्तै खेलकाे ४४ औं मिनेटमा एम्बाप्पेकाे बल नुयरले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् ।

बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ ।

यता, बायर्न भने छैटौं पटक उपाधि जित्ने दाउमा छ । उसले १९७४ देखि ७६ सम्म लगातार तीन सिजन र २००१ तथा २०१३ गरी पाँच पटक उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल पुगेर उपाधिविहीन बनेको थियो ।

Loading...