चुपचाप मन्दिर : सुनसान बस्ती

तारा पराजुली

मौन मौन पदचाप बोकेर हावा सुस्त सुस्त बहिरहेको छ । चराहरू हिजोभन्दा अलि भिन्न लयमा चिर्बिराइरहेछन्, ध्यानकर्मीहरूले नित्यकर्म छोट्याएका छन् । मन्दिरमा गेट नखुलेको लगभग आधा वर्ष पुग्न लागेको छ । पूजाको घण्टी लय भुलेसरि हतास आवाजमा बजिरहेको छ । मेरो घरअघिको कच्ची सडकमा धूलो उड्दैन अचेल ताकि, बटुवा अनिश्चित कालका लागि घरभित्र छन् । मन्दिरमा पुजारीको स्तुतिगान फेरिएको छ । भदौको महिना हो यो, भक्तहरू छिनछिनमा वर्षने झरिसँग साँझ–बिहान पुकारा गर्छन्– हे झरि यो सारा रोगव्याधी बगाइदेउ भनेर ।

“महामारीले चाडपर्व सबै मास्ने भो, छोरीसँग कुशे औँशीमा भेट नभाको चार लागो, यो साल तीज पनि खल्लो हुनेभो,’’ हिँड्दाहिँड्दै चिउँडोमुन्तिर लौरो अड्याएर गाउँका एकजना बुबाले उदास मुद्रामा आफ्नो पीडा सुनाउनु भयो । त्यो दिन कुशेऔंशीको भोलिपल्ट थियो । उहाँको अभिव्यक्तिपछि मैले मनमनै सोचें– बुझ्नेहरूलाई कति प्रिय छन् संस्कृतिहरू । हुनपनि यीनै विश्वास र प्रेमको तागतले बाँचेका छन्, यहाँ यावत परम्पराहरू । हाम्रा परम्परा रीतिरिवाजका प्राण मानव समुदाय नै हुन् । वास्तवमा हाम्रो देश अनमोल इन्द्रेणी संस्कृतिको संगमका रूपमा संसारभर परिचित छ । यहाँका हरेक जातिलाई आफ्नो संस्कृतिप्रति अधिक प्रेम र विश्वास छ । साँच्चिकै मानव समुदायबाट संस्कृति अलग भयो अर्थात् समाजबाट संस्कृति हरायो भने सर्वस्व हराउँछ भन्ने भनाइमा सत्यता छ ।

धैर्य एक अनौंठो प्रवृत्ति र नित्य बानी हो, यसलाई निरन्तरको अभ्यासबाट प्राप्त गर्न सकिन्छ । यस वर्ष महामारीका कारण केही पर्वहरू परिवारभित्र सीमित भए, टाढाका आफन्त आउन–जान बन्दाबन्दीका कारण परिस्थिति प्रतिकूल बन्यो । यद्यपि, शरीर रहे पर्वहरू आउने साल मनाउँला भनेर आत्मबल दह्रो बनाउने बेला हो यो । संस्कृति भनेको भावनात्मक सम्बन्ध जोगाइरहने जोडिरहने साँघु पनि रहेछ । भौतिक दूरीलाई कम गर्न मनहरू नजिक बनाइराख्ने बलियो सेतु रहेछन्, रीतिरिवाजहरू । यसकारण पनि यसपटक केही सामाजिक, धार्मिक साँस्कृतिक महत्त्व बोकेका चाडहरू उदास निरस बिते । म तीजको सन्दर्भभित्र छु । यो तीजको मौसम हो । तीज पर्वको सुरुआत जसरी भएपनि, हिजोका दिनमा जसरी मनाइए पनि, तीजको परिभाषा जे–जसरी गरिए पनि आज आएर धेरैजसो नेपाली महिलाहरूले तीजलाई केही हदसम्म आफूअनुकूल, समाज र समयअनुकूल बनाउँन सफल भइसकेका छन् ।

खासगरी भाद्र महिनासँग नेपाली नारीहरूको छुट्टै प्रेमभाव छ । तीज पर्व लिएर आउने महिना हो भदौ । अनि महिला मात्रको एक मात्र पर्व भएकै कारण उक्त चाडलाई महत्त्वका साथ हेर्ने चलन छ । नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयाका दिनबाट सुरु भएर पञ्चमीसम्म चार दिन मनाइन्छ । परम्पराअनुसार तीजमा भगवान शिवको पूजा–आराधना गरिनुका साथै नाचगान मनोरञ्जन र पछिल्लो समय महिला अधिकार, विकृति, विसङ्गतिविरुद्ध चर्का सकारात्मक आवाजहरूसमेत उठान गरिने पर्वका रूपमा तीज परिष्कृत भएपनि अहिले यसो हुन सकेन ।

खासगरी नेपाली महिलाहरूद्वारा स्वतन्त्र र मर्यादित रूपमा मनाइने तीज पछिल्लो समय साझा पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने परिपाटीको विकास र विस्तार भएको छ । विगतमा यसको रौनकले प्रेम, शान्ति, सद्भावको विकास र जुन उभार छोडेर जान्थ्यो अहिले त्यो हुन सकेन । जति सुन्दरता र मौलिकता प्रस्तुत गर्थ्यो ती सबै थाँती रहे । नेपाललगायत विदेशमा बस्ने नेपालीहरूले समेत हर्ष उल्लासका साथ भेटघाट मनोरञ्जन र शुभकामना साटासाट गरेर मनाइने तीज यस वर्ष व्यक्ति र परिवारमै सीमित रह्यो । त्यसो त समयको परिवर्तनसँगै तीज मनाउने शैलीमा व्यापक परिवर्तन भइसक्दा यसले हरेक वर्ष सामाजिक, सांस्कृतिक, राजनैतिक एवम् लैंगिक परिवर्तनका निम्ति महत्त्वपूर्ण सन्देश प्रेषण हुनेगरेको सन्दर्भमा यसपालि ती सन्देश प्रवाह हुन सकेनन् ।

तीज महिलाहरूले मनाउने महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले जसरी व्याख्या परिभाषा गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । हिजोका दिनमा विवाहित महिलाहरूलाई पराइ घरको नयाँ परिवेश, विभिन्न जिम्मेवारी, कडा बुहार्तन, सूचना र सञ्चारको पहुँचबिनाको समय, संसार अहिले जस्तो विज्ञान प्रविधि र आमसञ्चारको कुनै थालनी नभएको समय जीवन पद्धति निकै जटिल थियो भन्ने अनुमान हामी सहजै गर्न सक्छौं । यस्तो बेला आफन्तहरूबीच खबर बुझ्ने माध्यम केवल भेट्घाट हुने गर्थ्यो । त्यो समय विवाहित नारीहरूलाई माइतीको सम्झनाको ग्यापलाई कम गर्न यो पर्वको ठूलो भूमिका रहन्थ्यो । साथीभाइ इस्टमित्रहरूको प्रेम सद्भावको लम्बिँदै गरेको दूरी घटाउन सहयोग यी प्रकृतिका पर्वले गर्थे । सबैभन्दा सुन्दर पक्ष के छ भने, तीज मौलिक संस्कृति हो तर संस्कृतिभित्रका असल र खराब पक्षहरू छुट्ट्याएर नकारात्मक पक्षहरू इन्कार गर्दै जान महिलाहरू आफ्नै चेतना र विवेकले सफल भएका छन् ।

विलियम गोल्डिङले भनेका छन्, “निल समुद्र उसैले पार गर्न सक्छ, जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।’’ विश्वलाई कोरोना भाइरसले गाँजिरहेको समय आम मानव समुदाय उच्च विवेक प्रयोग गरी धैर्यले विजय प्राप्त गर्दैछ ।

यति ठूल्ठूला महत्त्व र गरिमा बोकेका पर्वहरू ओझेलमा छन् । यो समय क्रुर कोरोनाका कारण कतिपयले हस्पिटलभित्र बिताउनु परेको छ, कतै आइसोलेशन, कतिले क्वारेन्टाइन होम क्वारेन्टाइनमा बिताउनु परेको छ । महामारीको कारण कतिपयले ज्यान गुमाउनु परेको दुःखद सत्यले कैयौं परिवार गहिरो दुःखमा छ । यति अग्लो दुःखको पहाड उक्लने दिन हाम्रै नजिक छ भनेर सायदै कल्पना गरेका थियौँ हामीले । यसर्थ पनि कठिन यात्रामा छौँ । यो यात्रा आफैँलाई सुनसान लाग्नु, कोलाहल बीच पनि मौनता बोलिरहनु, केही पर्खिए जस्तो लाग्नु, केही छोडिए जस्तो हुनु अस्वभाविक होइन । ताकि, हामी भयंकर विपत्तिसँग जुधिरहेछौँ । आत्मबल र धैर्यले जित्नुछ फेरि पनि ।

आज तीजको अन्तिम दिन ऋषि पञ्चमी । अघिल्ला वर्षहरूमा परम्पराअनुसार ऋषि पञ्चमीलाई महिलाहरूले विशेष रूपमा मनाइरहँदा यसको रौनक छुट्टै थियो । विगतमा गाउँ टोलमा नारीहरू ब्रत बसेर, चार वेदका रचयिता सप्तऋषिको पूजाआजा गरेर हरितालिका तीजलाई बिदा गर्ने दिन । शास्त्रीय मान्यताअनुसार यस दिनको सन्दर्भ खासगरी महिलाहरूको सिर्जनाशक्ति रजस्वलासँग जोडिए पनि नारीभित्रको सिर्जनारूपि प्रजननशक्तिसँग सम्बन्धित रजस्वला संसारको अतुलनीय शक्ति हो ।

आम मान्छेहरूलाई थाहा भएको कुरा हो । महिलाको रजस्वलाबिना सृष्टिको अस्तित्व रहन्न । यति पवित्र वस्तु अछुतो हुने कुरा पनि भएन । यो तथ्यगत सत्य हो । आजकै दिनसँग जोडिएको गाउँघरमा अहिले पनि औषधिका रूपमा परिचित दतिवन आयुर्वेदमा दत्तिवन (एकाइरैन्थस एस्पेरा) लाई महत्त्वपूर्ण जडिबुटीका रूपमा चिनिन्छ । संस्कृत भाषामा ‘अपमार्ग’ र अंग्रेजीमा ‘प्रिकली चाफ फ्लावर’ का नामले चिनिने यो जडिबुटी आयुर्वेद विज्ञानअनुसार हृदयरोग, रक्तविकार चर्मरोगलगायत दर्जनौं रोगको औषधीय गुण भएको जडिबुटीको प्रसंग जोडिएको छ, यस दिनसँग । विगत वर्षहरूमा आजकै दिन यो जडिबुटी खोज्न बारी र चिस्यानतिर खुब भीड लाग्ने गर्थ्यो तर त्यो चहल–पहल कतै छैन आज । ठाउँ–ठाँउमा ठूला पानीका सतहमा रमाइरमाई नुहाउँदै गरेका उज्याला मान्छेहरूको समूह कहीँ देखिँदैन । जाग्रामका रातहरू बेखबर छन् । संगिनी र तीज गीतहरू सानो कोठाभित्र मसिनो आवाजमा रेडियो र टेलिभिजनमै सीमित छन् ।

यसबेला सबैको एउटै चाहना छ, महामारी छिट्टै अन्त होस् । जीवन स्वस्थ र समृद्ध बनोस् ।
जीवन रहे थुप्रै पर्व र उत्सवहरू मनाउँला । आज सम्पूर्ण शक्तिले महामारीविरुद्ध विजय प्राप्त गर्नुछ ।

पराजुली माेरङकाे बेलबारी नगरपालिकाकी उपप्रमुख हुन्

Loading...