बायर्न च्याम्पियन्स लिगमा अनुभवी क्लब : टुचेल

एजेन्सी, ७ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगमा अनुभवी क्लब रहेको बताएका छन् ।

युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल खेल्नुअघि टुचेलले यस्तो बताएका हुन् ।

पीएसजीले च्याम्पियन्स लिगको उपाधिका लागि जर्मन क्लब बायर्नसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार आज राति १२ः४५ बजे हुने यो खेल पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुनेछ ।

यस खेलमा बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । पीएसजी पहिलो पटक उपाधि जित्दै रेकर्ड बनाउन चाहन्छ ।

पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ । पीएसजी पहिलोपल्ट फाइनल पुग्ने ४१औं टोली हो ।

खेलको पूर्वसन्ध्यामा बोल्दै टुचेलले भने, ‘बायर्न एक महान क्लब हो । ठूला खेल खेलिसकेका कारण उनीहरूले फाइदा उठाउन सक्छन् । उनीहरूको सामना गर्नु ठूलो चुनौती हो । बायर्नविरुद्धको खेल साँच्चै नै कठिन हुनेछ । उनीहरूसँग व्यक्तिगत क्षमता छ ।’

उनले थपे, ‘यसैले हामीहरूले स्वतन्त्र खेलेर आत्मविश्वासका साथ अवसरहरू खोज्नुपर्छ । फाइनल खेलका लागि कुनै ठूलो मौका चाहिँदैन । त्यसर्थ हामीले बोरुसिया डर्टमुण्ड, अटलान्टा र आरबी लेइपजिगविरुद्धको खेल जस्तै तयारी गरेका छौं ।’

यसअघि पीएसजीले फाइनलका लागि जर्मन क्लब आरबी लेइपिजमाथि ३–० गोलको जित निकालेको थियो ।

त्यसअघि क्वार्टरफाइनलमा इटालियन क्लब अटलान्टामाथि २–१ गोलको जित निकालेको पीएसजीले जर्मनकै डर्टमुण्डविरुद्ध समग्रमा ३–२ को जित निकालेको थियो ।

Loading...