Rumpum Advertisement
Dazzu

विराटनगरमा निषेधाज्ञाको दोस्रो दिन : दिनभर सुनसान, साँझ परेपछि सामान्य चहल पहल (फाेटाे फिचर)

विराटनगरमा निषेधाज्ञाको दोस्रो दिन : दिनभर सुनसान, साँझ परेपछि सामान्य चहल पहल (फाेटाे फिचर)

विराटनगर,७ भदौ । प्रदेश १ राजधानी विराटनगर कोरोना महामारीको हटस्पट बनेपछि शनिबारयता निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको पहिलो दिन शनिबार बजार पसल सुनसान थिए । दोस्रो दिन आइतबार बजारमा मानिसको सामान्य चहलपहल देखिएको छ ।

संक्रमित बढेपछि विराटनगर महानगरसहित रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा १० भदौं मध्यरातसम्म लागू हुने गरी पाँच दिने निषेधाज्ञा जारी गरिएको छ ।

समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार नै निषेधाज्ञाको सूचना जारी गरेको थियो ।

निषेधाज्ञा लागू गर्नुअघि नै महानगर, नगरपालिका र गाउँपालिकाले भने आ–आफ्नो क्षेत्रमा लकडाउन घोषणा गरेका थिए ।

संक्रमण बढेसँगै प्रदेश राजधानी विराटनगरमा पनि सर्वसाधारणको हिँड्डुल र सवारीसाधनको आवगमनमा निकै कमी भएको छ ।

निषेधाज्ञाको दोस्रो दिन दिनभर बजार सुनसान भएपनि साँझ परेपछि भने बजार केही चहलपहल थियाे ।

अन्य क्षेत्रबाट विराटनगर छिर्ने नाका र महानगर क्षेत्रभित्र हिँड्डुलमा कडाई गरिएको भएपनि सडक, बजार र चौक क्षेत्रमा मानिसको चहलपहल छ ।

विराटनगरमा कोरोना संक्रमितको संख्या ८४९ छ । ती मध्ये नौ जना संक्रमितको मृत्यु भईसकेको छ । महानगरमा आतइतबार मात्रै ४२ कोरोना संक्रमित थपिएका छन् ।

विराटनगर महानगरपालिकामा एकैदिन ४२ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ५९ पुगेको छ ।

स्थानीय प्रशासनले जिल्लाभरी राति नौ बजेबाट बिहान पाँच बजेसम्म हिँड्डुल गर्न निषेध गरेको छ ।

औषधी, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरिद र सेवा लिनका लागि बाहेक अन्य कुनै पनि कार्यका लागि घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।