कोरोनाका कारण मानसिक तनाब बढ्दो, संक्रमणमुक्त भएकाहरू भन्छन्– ‘निराश हुनुपर्दैन’

विराटनगर, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव तथा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना–१९ का कारण नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको बताएका छन् ।

एलिट क्लब विराटनगरले आयोजना गरेको अनलाइन छलफलमा उनले मानसिक समस्या बढी देखिन थालेको बताए । कोभिड–१९ को उपचारमा लागिरहेको अवस्थामा यसको प्रभावका कारण उत्पन्न हुने मानसिक समस्या अनुमान गरेभन्दा बढी रहेको बताए । उनले राज्य र नागरिक समाजले समेत सचेतन पहलबाट काम गर्न थाल्न जरुरी रहेको बताए ।

कोरोनाको उपचारका क्रममा आइसोलेशनमा रहेका बिरामीहरूको अनुगमनका लागि लागि स्वास्थ्यकर्मीलाई दैनिक दुई रुपैयाँ भत्ता दिएर राखिएको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मा दिइएको बताए ।

छलफलमा सामाजिक मनोविर्शकर्ता मञ्जिता उपाध्यायले कोरोनाका कारण विगतमा भन्दा भिन्न प्रकृतिका मनोसामाजिक समस्या देखिन थालेको बताइन् । उनले मनोसामाजिक विमर्शकर्ताहरूको रोस्टर बनाई सरकारले अविलम्ब व्यस्थित रूपमा परिचालन गर्नुपर्ने बताइन् ।

छलफलमा कोरोन पोजिटिभ भइ उपचारमा होम आइसोलेशनमा बसेकी प्रदेश १ की प्रदेशसभा सदस्य कुशुम श्रेष्ठले रोगको कारणले भन्दा पनि बाह्य हल्ला र असामाजिक व्यवहारका कारण बढी पीडित भएको अनुभव सुनाइन् ।

एलिट क्लबका पूर्व महासचिव तथा प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले कोरोना संक्रमितको अलग–अलग लक्षण देखिने गरेको बताउँदै उपयुक्त वातावरण भएमा घरमै एकान्तबासमा रहँदा एक प्रकारको खुशी र सहज हुने बताए ।

मोरङका जिल्ला वन अधिकृत विशाल घिमिरेले सँगै काम गरेको र सँगै बसेको व्यक्तिलाई कोरोना नलागेको अवस्था रहेको व्याख्या गर्दै घरमा नै एकान्तबासमा रहेका हरेक बिरामीका लागि दैनिक स्वास्थ्य अवस्था बुझ्ने स्वास्थ्यकर्मीको खटाउन आवश्यक रहेको बताए ।

अग्रज पत्रकार तथा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले आयर्वेदिक जडिबुटीको खाएर र अन्य लक्षणको सामान्य उपचार गरेकै आधारमा आफूले कोरोना परास्त गर्न सकेको बताउँदै संक्रमण हुँदैमा निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

एलिट क्लब विराटनगरले वैशाखको पहिलो सातादेखि नियमित रूपमा सञ्चालन गरिरहेको अनलाइन संवाद शनिबार कोरोनाका कारण उत्पन्न मनोसामाजिक समस्याका बारेमा केन्द्रित थियो ।

कार्यक्रममा धनकुटा, तेह्रथुम, सुनसरी, काठमाडौं र मोरङसमेतका गरी यस अवधिको सबैभन्दा बढी करिब एक सय सहभागी रहेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष विश्वनाथ रिजालले स्वागत गर्दै छलफलको विषयवस्तु राखेका थिए । छलफलको सहजीकण महासचिव यज्ञप्रसाद शर्माले गरेका थिए ।

Loading...