बीपीमा प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको मृत्यु

विराटनगर, ७ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिनअघि प्लाज्मा थेरापी गरिएका संक्रमितको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार धरान– ८ का ६८ वर्षीय पुरुष सिकिस्त अवस्थामा ३० साउनमा अस्पताल भर्ना भएका थिए ।

लगत्तै उनको प्लाज्मा थेरापी गरिएको थियो । उनी बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । शनिबार धरान १५ का ६७ वर्षीय पुरुषकाे मृत्यु भएकाे थियाे । उनकाे पनि प्लाज्मा थेरापी गरिएकाे थियाे ।

योसँगै धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या तीन पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मोरङमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ ।

मोरङका १३ मध्ये विराटनगरका ९, बुढीगंगा गाउँपालिकाका २, रंगेली र सुनवर्षी नगरपालिकाका १–१ जना छन् ।

Loading...