विराटनगरमा संक्रमित : महानगर र प्रदेशको तथ्यांक फरक, कन्ट्याक ट्रेसिङमा समस्या

विराटनगर, ७ भदौ । विराटनगरमा कोरोना संक्रमितको संख्या दुई सरकारले छुट्टा–छुट्टै प्रस्तुत गरेका छन् ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा संक्रमितको संख्या प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले छुट्टा–छुट्टै प्रस्तुत गरेका हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार विराटगरमा शुक्रबार २९ जना संक्रमित थपिएका छन् । शुक्रबार विराटनगर महानगरपालिकाको रेकर्डमा भने १७ जना संक्रमित थपिएका छन् ।

प्रदेशको रेकर्डमा शनिबार विराटगरमा ३३ जना संक्रमित थपिएका छन् । तर विराटनगरको रेकर्डमा भने ९ जना मात्र संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म विराटनगरमा संक्रमितको संख्या ८४९ पुगेको छ । तर विराटनगर महानगरपालिकाको रेकर्डमा ८१२ संक्रमित थपिएका छन् ।

तथ्यांकक तलमाथि हुँदा संक्रमितको व्यवस्थापनमा समस्या भएको छ । कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गरी परीक्षणको दायरामा ल्याउने जिम्मा स्थानीय सरकारको हो । पोजेटिभ भएकाहरूको लिष्ट नै नआएका कारण महानगरपालिकालाई कन्ट्याक ट्रेसिङमा समस्या भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की प्रदेशले तथ्यांकक सार्वजनिक गरेपनि महानगरसँग शुक्रबार १७ र शनिबार ९ जना संक्रमितको मात्रै विवरण आएको बताए ।

‘कन्ट्याक ट्रेसिङ हामीले गर्ने भएकाले रिपोर्ट पनि आउनुपर्छ,’ उनले भने, ‘पोजेटिभ रिपोर्टका आधारमा कन्ट्याक ट्रेसिङ हुन्छ । सबै विवरण नआएमा कन्ट्याक ट्रेसिङ गर्न गाह्रो हुन्छ ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिको सचिवालय संयोजक डा. सरोज विशाल सम्बन्धित ल्याबले नै स्थानीय तहलाई कोरोना जाँचको रिपोर्ट पठाउने बताउँछन् ।

संक्रमितको विवरण अध्ययनपछि मन्त्रालयले पनि जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहलाई पठाउने बताउँछन् । ‘परीक्षण गर्ने ल्याबले नै स्थानीय तहलाई रिपोर्ट पठाउँछ,’ उनले भने, ‘हामी पनि जिल्ला स्वास्थ्य कार्यालय पठाउछौं, कार्यालयले स्थानीय तहमा पठाउँछ ।’ महानगरमा संक्रमितको विवरण नपुगेको बारेमा जानकारी नभएको उनले बताए ।

Loading...