दुई तल्लामाथिबाट हामफालेर कोरोना संक्रमित थुनुवा भागे

वीरगञ्ज, ७ भदौ । वीरगञ्जबाट दुई जना कोरोना भाइरस संक्रमित थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका कोरोना संक्रमित दुई थुनुवा नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डकबाट भागेका हुन् ।

शनिबार राति २ बजे अस्पतालको दोश्रो तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरू फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरी हिरासतमा रहेका थुनुवाहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा निर्माण गरिएको सामुदायिक आइसोलेशन सेन्टरमा राखिएको थियो ।

थुनुवाहरूकोे स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा उपचारका लागि राखिएको र गएराति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले अस्पतालको डिलक्स क्याबिनमा बस्दै आएका थुनुवा संक्रमितहरू कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

फरार संक्रमितहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Loading...