च्याम्पियन्स लिग उपाधिको दौडमा बायर्न र पीएसजी, कसले मार्ला बाजी ?

एजेन्सी, ७ भदौ । युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि भिडन्तमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रतिस्पर्धामा छन् ।

नेपाली समयानुसार आज राति १२ः४५ बजे पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने खेलमा बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् ।

पीएसजी पहिलो पटक उपाधि जित्दै रेकर्ड बनाउन चाहन्छ । पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ । पीएसजी पहिलोपल्ट फाइनल पुग्ने ४१औं टोली हो ।

पहिलो पटक फाइनल पुगेका पछिल्ला ६ टोलीले फाइनल जित्न सकेका छैनन् । पछिल्लो पटक बोरुसिया डर्टमुण्डले १९९७ मा पहिलोपल्ट फाइनल पुग्दै उपाधि जितेको थियो । डर्टमुण्डले इटालियन क्लब युभेन्टसलाई हराउँदै उपाधि उचालेको थियो ।

यता, बायर्न भने छैटौं पटक उपाधि जित्दै इंग्लिस क्लब लिभरपुलसँग उपाधि बराबर बनाउने दाउमा छ । बायर्नले पाँच पटक उपाधि जितेको छ भने लिभरपुलले छ पटक उपाधि जितेको छ ।

लिभरपुल अघिल्लो संस्करणको युरोपियन च्याम्पियन पनि हो । यता, बायर्नले भने १९७४ देखि ७६ सम्म लगातार तीन सिजन र २००१ तथा २०१३ गरी पाँच पटक उपाधि जितेको थियो ।

पछिल्लो समय बायर्नले २०१६ मा घरेलु प्रतिद्वन्द्वी क्लब बोरुसिया डर्टमुण्डलाई हराउँदै उपाधि जितेको थियो । त्यसयता उसले उपाधि जित्न सकेको छैन । ऊ छ पटक फाइनल पुगेर पनि उपाधिविहीन बनेको थियो ।

बायर्न र पीएसजीले च्याम्पियन्स लिगमा आठ पटक भेट गरेका छन् । समूह चरणअन्तर्गत जसमा भएका भेटमा पीएसजीले पाँच पटक र बायर्नले तीन पटक जित निकालेका छन् । पछिल्लो पटक २०१७ मा यी दुईले एक–अर्काको सामना गरेका थिए ।

घरेलु लिगतर्फ बायर्न जर्मन बुन्डेसलिगा च्याम्पियन हो भने पीएसजी फ्रेन्च लिग वान च्याम्पियन हो । पीएसजीले यस सिजन फ्रेन्च लिग वान, फ्रेन्च कप र फ्रेन्च लिग कप गरी तीन उपाधि आफ्नो बनाइसकेको छ भने च्याम्पियन्स लिग जित्दै चौथो उपाधि उचाल्ने दाउमा छ ।

यता, बायर्न यस सिजन ‘गोल मेसिन’का रूपमा प्रस्तुत हुँदै आएको छ । यस सिजन सबै प्रतियोगिता गरी बायर्नले ५१ खेलबाट १५८ गोल गरेको छ ।

अब, थोमस टुचेलको क्लब पीएसजीविरुद्ध ३ गोल गरेमा बार्यनले बार्सिलोनाले बनाएको एक सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्नेछ । सन् १९९९–२००० को सिजनमा बार्सिलोनाले च्याम्पियन्स लिगमा ४५ गोल गरेको थियो ।

यसैगरी यस सिजन उच्च फर्ममा रहेका बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पोर्चुगिज स्टार क्रिस्टियानो रोनाडोको कीर्तिमानसँग बराबरी गर्ने दाउमा छन् । यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका ३१ वर्षीय लेवान्डोस्कीले थप दुई गोल गरेमा रोनाल्डोले २०१३–१४ मा बनाएको एकै सिजन धेरै गोल गर्ने खेलाडीको रेकर्डसँग बराबरी गर्नेछन् ।

सो सिजन रोनाल्डोले १७ गोल गरेर सिंगल सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । पोलिस स्टार लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगिता गरी ४६ खेल खेल्दा ५५ गोल गरेका छन् । पछिल्ला ९ च्याम्पियन्स लिग खेलमा उनले गोल गर्दै आइरहेका छन् ।

यसअघि पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बायर्नले भने फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

यस खेलअघि बोल्दै पीएसजी र बायर्नका प्रशिक्षकले एक–अर्काको प्रसंशा गरेका छन् । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले पीएसजी विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको बताएका छन् ।

‘हामीले पीएसजीको सामना गर्दैछौं र विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको पीएसजीसँग उपाधिका लागि खेल्न पाउँदा हामी उत्साहित छौं । उनीहरूसँग महान प्रशिक्षक छन्, व्यक्तिगत रूपमा वा प्रशिक्षकको रूपमा म थोमस टुचेलको कदर गर्छु,’ खेलको पूर्वसन्ध्यामा उनले भने ।

यसैगरी उनले पीएसजीसँग उत्कृष्ट खेलाडीहरू भएकाका कारण फाइनल खेल रोचक हुने बताए । ‘पेरिससँग धेरै नै उत्कृष्ट खेलाडी छन् । यसैले पनि फाइनल खेल चाखलाग्दो हुनेछ’, उनले भने ।

यसैगरी पीएसजीका प्रशिक्षक टुचेलले भने बायर्न च्याम्पियन्स लिगको अनुभवी क्लब रहेको बताएका छन् । ‘बायर्न एक महान क्लब हो । ठूला खेल खेलिसकेका कारण उनीहरूले फाइदा उठाउन सक्छन् । उनीहरूको सामना गर्नु ठूलो चुनौती हो । बायर्नविरुद्धको खेल साँच्चै नै कठिन हुनेछ । उनीहरूसँग व्यक्तिगत क्षमता छ ।’

‘यसैले हामीहरूले स्वतन्त्र खेलेर आत्मविश्वासका साथ अवसरहरू खोज्नुपर्छ । फाइनल खेलका लागि कुनै ठूलो मौका चाहिँदैन । त्यसर्थ हामीले बोरुसिया डर्टमुण्ड, अटलान्टा र आरबी लेइपजिगविरुद्धको खेल जस्तै तयारी गरेका छौं, उनले भने ।

पीएसजीले यस सिजनको च्याम्पियन्स लिगमा दुई जर्मन क्लबलाई हराइसकेको छ । डर्टमुण्ड र लेइपगिजविरुद्ध जित निकालेको पीएसजी तेस्रो जर्मन क्लब बायर्नलाई हराउँदै उपाधि जित्ने योजनामा छ ।

यता, बायर्नले यसअघि फ्रेन्च क्लब लियोनलाई हराएको छ भने दोस्रो फ्रेन्च क्लब पीएसजीमाथि जित निकाल्दै च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ ।

Loading...