Rumpum

Rumpum Advertisement

कोरोना भाइरस कुनै न कुनैरूपमा सधैंका लागि रहिरहन्छ

कोरोना भाइरस कुनै न कुनैरूपमा सधैंका लागि रहिरहन्छ

विराटनगर, ७ भदौ । कोरोना भाइरस ‘कुनै न कुनैरूपमा सधैंका लागि’ रहिरहने वैज्ञानिकहरू बताउँछन् ।

सरकारको आपतकालीन परिस्थितिका वैज्ञानिक सल्लाहकार समूहका सदस्य सर मार्क वालपोर्टले महामारीलाई नियन्त्रण गर्न विश्वव्यापीरुपमा खोप चाहिने बताए । कोरोना भाइरस हामीसँग कुनै न कुनैरूपमा सदाका लागि रहनेछ,’ उनले भने, ‘कोरोना भाइरसबाट बच्न मानिसहरूलाई नियमित अन्तरालहरूमा खोपको आवश्यकता पर्ने छ ।’

फ्लूजस्तै मानिसहरूलाई नियमित अन्तरालमा पुनः खोप आवश्यक हुने उनको भनाइ छ । सर मार्कले आवासीय जनसंख्या र यात्राका कारण भाइरस सजिलैसँग फैलिरहेको बताएका छन् । कोरोना भाइरस फेरि नियन्त्रणबाट बाहिर हुन सक्ने चेतावनी दिँदै सर मार्कले लकडाउनको सट्टा अन्य उपायहरू प्रयोग गर्न सकिने सुझाव दिएका छन् ।

सन् १९१८ मा आएको स्पेनिश फ्लूलाई नियन्त्रणमा ल्याउन दुई वर्ष लागेको थियो । स्पेनिस फ्लूका कारण पाँच करोड मानिसहरूको मृत्यु भएको थियो । केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रस अधानोम गेबेरियससले टेक्नोलोजीको क्षेत्रमा भएको प्रगतिले दुई वर्षभित्र नै कोरोनाको महामारी नियन्त्रणमा ल्याउन सकिने बताएका थिए ।