स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गरेको घटना सुन्दा दुःख लाग्छ : देउवा

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने घटनाले दुःखित बनाएको बताएका छन् । आइतबार एक अपिल जारी गर्दै देउवाले यस्तो बताएका हुन् ।

प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरूले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेको बताउँदै सभापति देउवाले अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोबैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्, ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ । स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरूलाई सजग गराउन चाहन्छु ।’

‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी र गाउँ–शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीको देउवाले भूमिकाको प्रशंसा गरेका छन् ।

यसैगरी देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न म सरकारलाई अपिल गरेका छन् ।

पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता विस्तार गरेर समुदायस्तरमा परीक्षण गर्न माग गर्दै देउवाले लाखौंको संख्यामा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपिल गरेका छन् ।

सभापति देउवाले कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुन सबै दल तथा जनप्रतिनिधिलाई अपिल गरेका छन् ।

Loading...