बाढीपहिरो प्रभावितलाई पलको सहयोग

विराटनगर, ७ भदौ । अभिनेता पल शाह कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् ।
मोटे ग्याङ, हाम्रो टिम नेपाल र पल शाहको सहकार्यमा बाढी पहिरो प्रभावितहरूलाई सहयोग गरिएको हो । उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरू सार्वजनिक गर्दै पहिलो चरणको सहयोग गरिएको र दोस्रो चरणको सहयोग छिट्टै गरिने जानकारी गराएका छन् । उनीहरूले बाढीपहिरो प्रभावित ४० घर परिवारलाई खाद्यान्न तथा लत्ताकपडाहरू वितरण गरेका थिए ।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिराका कारण ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै यस्तो समयमा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए । एकातिर कोरोनाको कहर, अर्कोतिर बाढीपहिरोले बिग्रिएको सडक, कालिकोटसम्म आइपुग्न सहज नभएको पलको भनाइ छ ।
कोरोना संक्रमणका कारण भएको लकडाउनमा विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई पलले पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गर्नुका साथै विभिन्न सामाजिक कामहरू गर्दै आएका छन् । म्यूजिक भिडियो छायांकनमा व्यस्त रहँदा र संक्रमितको संख्या बढेपछि पलले सामाजिक काम रोकेका थिए ।

Loading...