म च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ : एम्बाप्पे

एजेन्सी, ७ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्ट्राइकर किलियन एम्बाप्पेले आफू च्याम्पियन्स लिग जित्नका लागि पेरिस आएको बताएका छन् । उपाधि भिडन्तअघि पत्रकार सम्मेलनका क्रममा फ्रेन्च स्टार एम्बाप्पेले च्याम्पयन्स लिग जित्नका लागि आफू पीएसजी आएकाे बताएका हुन् ।

च्याम्पियन्स लिगमा आज उपाधिका लागि पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । आज नेपाली समयानुसार राति १२ः४५ बजे हुने यो खेल पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुनेछ ।

जहाँ, पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ । यता, विश्वकप विजेता एम्बाप्पे पनि पहिलो पटक च्याम्पियन्स लिग लिग जित्ने योजनामा छन् ।

एम्बाप्पे मोनाकोबाट पीएसजी आउनुअघि २०१७ मा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेका थिए । २१ वर्षीय एम्बाप्पे यसपटक भने उपाधि नजिक छन् ।

‘पक्कै पनि यसकारण म पीएसजीमा छु,’ शनिबारको पत्रकार सम्मलेनका क्रममा एम्बाप्पेले भने, ‘मैले सधैं भन्ने गर्थेँ कि म फ्रान्सको फुटबलमा इतिहास रच्न चाहन्छु । मसँग अर्को अवसर छ र त्यो बायर्नविरुद्धको खेलमा हुनेछ ।’

‘जब म २०१७ मा यहाँ आएँ, पीएसजीलाई कठिन थियो । तर, अब हामी फाइनलमा छौं । यसले हामी कहिल्यै हार मान्दैनौं भन्ने स्पष्ट पार्छ । र, च्याम्पियन्स लिग जित्नु फ्रान्सेली क्लबका लागि एक आश्चर्यजनक कुरा हुनेछ । यसैले त म पीएसजीमा अनुबन्ध भएको हुँ,’ उनले भने ।

Loading...