संक्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ

‘सामाजिक बहिस्कारको पीडा अरुलाई नपरोस्, आत्मबल कमजोर भएका तिमीहरुका हर्कतबाट नमरुन् ।’

नारायण ढुङ्गाना

‘हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना संक्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु,’ कोभिड–१९बाट संक्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, ‘यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाति, तपाईको छिमेकी यस्ता नपरुन् हाम्रो शुभकामना ।’

उहाँको स्टाटसको अन्त्यमा उल्लेख गर्नुभएको सन्देश छ, ‘सामाजिक बहिस्कारको पीडा अरुलाई नपरोस्, आत्मबल कमजोर भएका तिमीहरुका हर्कतबाट नमरुन् ।’

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. बगाले कोभिड–१९ का संक्रमितको उपचारमा अहोरात्र खटिँदा पोजेटिभ रिपोर्ट आयो । त्यसबारे कसरी जोगिने भनेर उहाँलाई राम्रो ज्ञान छ । समुदायमा नजाओस् भनेर आफैँ घरभित्र सुरक्षित भएर बसिरहेका बेला कोरोना संक्रमण भएको भनेर सामाजिक बहिष्करणमा पर्नुभयो । यस्ता सामाजिक बहिष्कारले मानिसलाई आत्महत्यासम्म पु¥याउन सक्नेतर्फ सचेत गराउनकै लागि उहाँले स्टाटसमार्फत् सन्देश प्रवाह गर्नुभयो ।

होम आइसोलेसनमा बसिरहनुभएका उहाँको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । यसअघि पनि कुनै लक्षण भने नदेखिएको डा. बगालेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेका गतिविधि समस्याग्रस्त छन् भने त्यसलाई निगरानी गर्ने हो, गतिविधिप्रति सचेत छ भने संक्रमित पनि घरमै बस्दा राम्रो मान्नुपर्नेमा समाजले व्यानर राखेरै झन् पीडा थप्नु हुँदैन ।’ लक्षण देखिएकालाई मात्रै अस्पताल लानुपर्ने सुझाव उहाँको छ ।

घरमा बसेको अनुभव सुनाउँदै उहाँ अब होम आइसोलेसन विकास गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गर्नुहुन्छ । सरकारले त्यस्ता व्यक्तिका लागि घरमा राख्न मिल्ने गरी मापदण्डसमेत तयार पारिसकेको छ । लक्षण नदेखिएका र बस्न सक्ने जति घरमै बस्दा राम्रो हुने र समाजले पनि त्यसैगरी सहयोग गर्नुपर्ने धारणा उहाँको छ ।

दुई हप्ताअघि उहाँको घर वरपर टोल सुधार समितिका टोली ठाउँठाउँमा खतरा भनेर लेखिएको व्यानर टाँग्न थाले । त्यसपछि डा. बगालेकै घरमा टाँस्न थाले । उहाँले यसो नगर्नुस् भन्दाभन्दै पनि राखेर गए । यस्ता गतिविधिले कमजोर मानिसले मनोसामाजिक समस्यामा फस्नेतर्फ कसैल हेक्का पनि राखेनन् ।

‘आफ्नो गतिविधि मान्छेले हेर्दैन, अरुको गतिविधि र अरुको कुरामा धेरै चासो दिन्छ र गफ मात्र दिन्छ, ऊ भने गाउँमा गफ लडाएर डुलिरहेको हुन्छ,’ कुराकानीका क्रममा डा. बगालेले भन्नुभयो, ‘एकजना पोजेटिभ देखियो भने घर घेर्न हिँड्छ मान्छे ।’

काठमाडौँको मैतीदेवीको एक घरमा त्यसैगरी कोरोना देखियो । त्यस घरलाई पनि समाजले त्यहीरुपमा हेरिरहेको छ । आफू दिनभर डुल्ने अनि त्यस घरका मानिसको कुरा काट्न भनेपछि नपर्ने अवस्था छ भन्छन् यहाँका स्थानीय नै ।

केही दिनअघि भक्तपुरको मध्यपुरथिमी नगरापलिका–५ मा पनि त्यस्तै घटना भयो । संक्रमित देखिएपछि छिमेकीले बाहिर जान नपाओस् भनेर बाहिरबाटै चुकुल लगाइदिए । नगरपालिकाको टोली तथा स्वास्थ्यकर्मी आएर सम्झाएपछि मात्रै समुदाय चुकुल खोल्न तयार भए । यसले मानिसमा नकारात्मक सोचको विकास हुने नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

जति भने पनि समुदायले स्वीकार गर्न गाह्रो पर्ने देखिएको उहाँ अनुभव सुनाउनुहुन्छ । त्यही गाउँमा एउटा परिवारका व्यक्ति बाहिरबाट आएका थिए । बिहान पाउरोटी किन्न जाँदा पसलवाला नै दोकान छाडेर भागेको तीतो अनुभव सुनाउनुभयो उहाँले । यस्ता घटना मुलुकका धेरै ठाउँमा भए पनि मानिस बोल्न सकिरहेका छैनन् । हेला र पीडा सहेर बसिरहेका छन् । टोलटोलमा सामाजिक तिरस्कार सहेर बस्नु परिरहेको छ ।

शनिबार साँझ पनि बानेश्वरको सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी राखिएको एक घरमा स्थानीय गएर घेरा हाले ।

यो घटना यस्तो अमानवीय प्रकृतिको थियो कि रोगको उपचार गर्ने चिकित्सकलाई नै त्यहाँबाट निकाल्नुपर्ने स्थानीयको माग थियो । सुन्दा पनि अचम्म लाग्ने र दया जाग्ने यस्तो घटना मुलुकको राजधानीकै मुटु मानिने बानेश्वरका बासिन्दाले गर्छन् भने देशका अन्य भागमा हुने घटनालाई के भन्ने ?

मान्छेले लापरवाही पनि गरिरहेकाले शङ्का उब्जेको पाइन्छ । ‘कन्ट्याक्ट ट्रेसिङमा भएको मान्छे वेपरवाह गर्दै हिँड्न पनि भएन, प्रमुख श्रेष्ठले भन्नुभयो, ‘समाजले पनि संक्रमितलाई घृणा नगरी सावधानी अपनाएर माया दिनुपर्छ ।’ यी प्रतिनिधि घटना हुन् । तर यस्ता घटना बढ्दो छ । यसतर्फ सामाजिक अगुवाको ध्यान नजाँदा अवस्था जटिलतातर्फ जाँदै छ ।

कोभिड–१९ सरुवा रोग हो । मानिसबाट सजिलै सर्न सक्ने भएकाले मानिसले अपराध गरेकोझैँ घृणा गर्नु भनेको सामाजिक अपराध हो । यसले मानिसलाई विक्षिप्त बनाउने र अपराध कर्म अर्थात् आत्महत्यासम्म पु¥याउने हुँदा समाजका प्रतिनिधि झनै सचेत हुनुपर्ने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना बताउनुहुन्छ । उहाँ समाजले त्यस्ता व्यक्तिलाई घृणा होइन, सहयोग र माया गर्नुपर्ने बताउनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम हामी जो कोही पनि संक्रमित हुन सक्ने हुँदा संक्रमित हुँदैमा बर्बादै भयो भन्ने सोचाइ राख्नु गलत हो भन्नुहुन्छ । यस रोग ८० प्रतिशत आफैँ निको भएर जान्छ । सरकारले जटिल रोग नआएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी मापदण्ड बनाएको अवस्थामा त्यसलाई स्वीकार गर्न समाज तयार हुनुपर्छ ।

‘यो संक्रमितको घर हो भनेर लेखेर टाँस्दा समाज कति असामाजिक भइरहेको छ भन्ने देखाउँछ, यस्ता भेदभावजन्य क्रियाकलापले समाजमा धेरै नकारात्मक असर पार्छ,’ डा. गौतमले भन्नुभयो, ‘यसले संक्रमण लुकाउने अवस्था आउने र मनोसामाजिक समस्या बढ्ने हुँदा भेदभावजन्य क्रियाकलापमा संलग्न नहुन र त्यस्ता गतिविधि निरुत्साहित गर्नुपर्छ ।’

अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सरसफाइकर्मीलाई सबै अग्रपङ्तिमा खटिनेलाई कोभिड–१९ देखिँदै आएको छ । उनीहरुलाई कसरी सर्यो भनेर कन्ट्रयाक्ट ट्रेसिङ गराउन सम्भव छैन । त्यसैले हामी आफैँ सावधानी अपनाउनु नै यसको महत्वपूर्ण उपचार हो ।

अझै स्थिति जटिल बन्दै छ । मङ्गलबार मात्रै एकैदिन एक हजार बढीमा संक्रमण देखियो । एकै दिनमा ११ जनाको मृत्यु हुनु सामान्य होइन । विवरणले निक्कै सावधानी अपनाउनु पर्छ भनेर देखाएको छ, भन्नुहुन्छ डा. गौतम ।

संक्रमितलाई समुदायले पनि सकारात्मकरुपमा सोच्नुपर्छ । खाली क्षेत्रमा वडा र नगरपालिकाले व्यवस्थापन गरी घरमा बस्न नमिल्ने भएमा लक्षण नदेखिएकालाई त्यहाँ राख्ने संरचना विकास गर्नु पर्ने आवश्यकता छ ।

अस्पताल भरिँदै आएको अवस्थामा समाजका अगुवाले संक्रमण फैलिन नदिन हाम्रो पनि सहभागिता महत्वपूर्ण छ भन्ने सोचको विकास गर्नुपर्छ । तब मात्रै सभ्य समाज निर्माण गर्न सकिन्छ । सरकारले मात्रै गर्छ, उसको मात्रै जिम्मेवारी हो भनेर समाजले आफ्नो भूमिका निभाउन नसके अवस्था जटिल हुँदै जाने जनस्वास्थ्यविद्को भनाइ छ ।

जनस्वास्थ्यविद् डा. अनिल भट्टराई सबैले स्वास्थ्य मापदण्ड इमान्दारीपूर्वक प्रयोग गरेमा रोगबाट जोगिन सकिने बताउनुभयो । उच्च मनोवल नभएमा कडारुप लिने भएकाले मानिसलाई रोग लाग्दैमा हेय भाव पैदा गराउन नहुनेमा जोड दिनुभयो ।

यो बेलामा अत्यावश्यकबाहेक घर बाहिर नस्किन सरकारले अनुरोध गरेको छ । निस्किए अनिवार्य मास्क लगाउन, दुई मिटरको दुरी कायम गर्न, भीडभाडमा नजान, राम्ररी साबुनपानीले हात धुन वा सेनिटाइजर लगाउन मन्त्रालयले सबैमा अनुरोध गर्दै आएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालसमेतमा उच्च दरमा फैलिएकाले त्यसलाई रोक्न जिल्ला जिल्लाले विभिन्न निर्णय गरेर अत्यावश्यकबाहेकका गतिविधिमा निषेधको आदेश जारी गरेको छ । उपत्यकासमेतमा बुधबार रातिदेखि उक्त आदेश लागू गरिएको छ ।

मुलुकमा दैनिक ५०० देखि १००० सम्म कोभिड–१९ संक्रमित फेला पर्न थालेका छन् । एकैदिन ११ जनासम्मको मृत्यु भएको छ । उपत्यकामा दैनिक सयभन्दा बढी देखिँदै आएको छ । यसले उपत्यकालगायत केही ठाउँमा भने महामारीकै अवस्थामा संक्रमण छ । मृत्यु हुनेको संख्या १४० भन्दा बढी पुगिसकेको छ ।

कोभिड–१९ को संक्रमण सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक चीनमा देखिएको । नेपालमा गत माघ ९ गने चीनबाट आएका एक व्यक्तिमा पहिलो पटक यो संक्रमण देखिएको थियो । वैशाखयता भने ह्वात्तै देखिएको हो र अहिले पनि कायमै छ । रासस

Loading...