Rumpum

Rumpum Advertisement

विराटनगरमा आधा संक्रमित घरमै, महानगरसँग छैन रेकर्ड

विराटनगरमा आधा संक्रमित घरमै, महानगरसँग छैन रेकर्ड

विराटनगर, ७ भदौं । होम आइसोलेसनमा बसेका विराटनगर–६ सरोचियाका ४५ वर्षीय संक्रमितको समयमै उपचार नपाउँदा मृत्यु भयो ।

बुधबार पोजेटिभ रिपोर्ट आएका उनलाई बिहीबार बेलुकासम्म विराटनगर महानगरपालिकाले आइसोलेसनमा राख्न समन्वय गरेन । ती पुरुषसँग मात्र होइन होम आइसोलेसनमा बसेका अधिकांश संक्रमितसँग विराटनगर महानगरपालिकाले समन्वय गरेको छैन ।

विराटनगर महानगरपालिकामा आठ सय चारजना संक्रमित छन् । तीमध्ये चार सयभन्दा बढी होम आइसोलेसनमा बसेका छन् । विराटनगर महानगरपालिकासँग भने तीन सय ३१ जना होम आइसोलेसनमा बसेको रेकर्ड छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेल चार सयभन्दा बढी कोरोना संक्रमित घरमै रहेको बताउँछन् । तर कहाँ कति संक्रमित घरमा बसेका छन् भन्ने रेकर्ड महानगरसँग छैन । सबै संक्रमितको सम्पर्कमा महानगरको स्वास्थ्य टोली पुगिनसकेको उनले बताए । ‘हामीले पाँचजनाको टोली बनाएका छौं,’ उनले भने, ‘टोलीले सबै संक्रमितलाई सम्पर्क गर्दै स्वास्थ्य अवस्था बुझ्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनमा दुई पटक संक्रमितलाई सम्पर्क गर्न टोली परिचालन गर्न भनेको छ । विराटनगरमा लक्षण देखिएका संक्रमितलाई नियमित सम्पर्क गरिने उनले बताए ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार दीलिप यादवको नेतृत्वमा समिति बनेको छ । समितिलाई होम आइसोलेसनमा बसेका व्यक्तिसँग सम्पर्क गर्ने जिम्मेवारी दिए पनि सबै संक्रमितसँग सम्पर्क गर्न सकेको छैन ।

घर–घरमा औषधि

प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार संक्रमित व्यक्तिलाई महानगरपालिकाले घर–घरमा औषधि पु¥याउन थालेको छ । ‘वडा कार्यालयमार्फत् आवश्यक औषधि घरघर पठाइरहेका छौं,’ उनले भने, ‘औषधि नपुगेको खण्डमा वडा कार्यालयलाई जानकारी गराए घरसम्म औषधि पठाउँछौं ।’ संक्रमित व्यक्तिको परामर्शलाई आइतबारबाट प्रभावकारी बनाइने उनले बताए ।

‘सिम्टम देखिएका संक्रमितलाई सम्पर्क गर्छाैं,’ उनले भने, ‘सामान्य अवस्थाका संक्रमितलाई गाह्रो भए सम्पर्क गर्न स्वास्थ्यकर्मीको नम्बर उपलब्ध गराएका छौं ।’