गाउँपालिका उपाध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि

ओखलढुंगा, ७ भदौ । ओखलढुंगाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन् ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताइएको छ । ‘स्वास्थ्यमा खासै समस्या नरहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु,’ उनले भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्लामा अहिले दुईजना सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

Loading...