नाभास च्याम्पियन्स लिगको फाइनल खेल खेल्न तयार

एजेन्सी, ७ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का गोलरक्षक केयलर नाभासले च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् ।

चोटका कारण सेमिफाइन खेलअन्तर्गत जर्मन क्लब आरबी लेइपिजविरुद्धको खेलमा गुमाएका उनी फाइनलमा उपलब्ध हुने बताइएको छ ।

ह्याम्स्ट्रिङका कारण पीएसजीको पहिलो रोजाइका गोलरक्षक नाभासले लेइपजिगविरुद्धको खेल गुमाएका थिए । सो खेल पीएसजीले ३–० गोलले जितेको थियो ।

यसै सिजन रियल मड्रिडबाट पीएसजी आएका नाभास इटालियन क्लब अटलान्टासँगको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।

खेलको ७९औं मिनेटमा कोस्टा रिकाका गोलरक्षक नाभासले मैदान छोडेका थिए भने उनको स्थानमा सर्जियो रिको मैदान प्रवेश गरेका थिए ।

त्यसयता मैदान नछिरेका उनले शुक्रबार व्यक्तिगत प्रशिक्षण गरेका थिए । पूर्ण रूपमा फिट भइ शनिबारबाट समूहका साथमा प्रशिक्षणमा फर्किएका उनले आज राति हुने फाइनल खेल्ने भएका हुन् ।

आज पीएसजीले फाइनलमा जर्मन च्याम्पिन बायर्न म्युनिखसँग खेल्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजे च्याम्पियन्स लिगको उपाधि भिडन्त पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुनेछ ।

जहाँ, बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ ।

यता, बायर्न भने छैटौं पटक उपाधि जित्ने दाउमा छ । उसले १९७४ देखि ७६ सम्म लगातार तीन सिजन र २००१ तथा २०१३ गरी पाँच पटक उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल पुगेर उपाधिविहीन बनेको थियो ।

Loading...