दीपेन्द्रको ‘चिसो मान्छे’ को रिलिज मिति तय

विराटनगर, ७ भदौ । ‘पशुपति प्रसाद’ र ‘आमा’को सफतलतापछि दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय भएको छ ।

फिल्मलाई ११ भदौ २०७८ मा रिलिज गरिने चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन् । ‘अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाँडै नै अन्त्य हुने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्ने सोचका साथ ‘चिसो मान्छे’को निर्माण कार्य अगाडि बढिरहेको हुँदा रिलिज डेट तय गरेको उनले बताइन् ।

डीएस डिजिटलको ब्यानरमा बन्ने चलचित्रको कथा दीपेन्द्र आफैंले लेखिरहेका छन् । ‘आमा’ भन्दा नयाँ फिल्मलाई अझै राम्रो बनाउनु पर्ने चुनौती थपिएको हुँदा स्क्रिप्टमा मेहनत गरिरहेको उनको भनाइ छ । स्क्रिप्ट फाइनल भएपछि कलाकार अनुबन्द गरिने छ । ‘चिसो मान्छे’ पछि दीपेन्द्रकै निर्देशन र शर्मिला पाण्डेको लगानीमा ‘लकडाउन’ निर्माण गरिने भएको छ ।

Loading...