नेटोद्धारा बेलारुसी राष्ट्रपतिको आरोप अस्वीकार

विराटनगर, ७ भदो । बेलारुसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सैनिकको तैनाथी बढेको भन्दै लगाएको विवादस्पद आरोपलाई नेटोले अस्वीकार गरेको छ ।

उसले उक्त आरोपमा कुनै सत्यता नभएको पनि बताएको छ । दुई साताअघि भएको विवादास्पद चुनावपछि बेलारुसमा प्रदर्शन हुँदै आइरहेका बेला सैन्य पोशाकमा सजिएका राष्ट्रपतिले आफ्नो सैन्य संरचनालाई उच्च सर्तक अवस्थामा राखेको बताएका छन्।

राष्ट्रपतिमा एलेक्सान्डर पुनः विजयी भएको घोषणा निर्वाचन आयोगले गरेपछि विपक्षीले चुनावमा गम्भीर धाँधली भएको र एलेक्सान्डर सत्ताबाट हट्नु पर्ने भन्दै भन्दै राजधानी मिन्स्कसहित बेलारुसभर प्रदर्शन गर्दै आएका हुन् ।

उनी २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका छन् । एलेक्सान्डरले नेटो सेना आफ्नो देशमा अस्थिरता पैदा गरी अर्को राष्ट्रपति चयन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

पोल्याण्ड र लिथुवानियाका सेनाले आफूलाई तयारी अवस्थामा राखेको भन्दै बेलारुसी सेनालाई देशको पश्चिमी सीमा तर्फ पठाएको बताए । तर नेटोले भने आरोपको खण्डन गरेको छ । आफूबाट बेलारुस वा अरु कुनै देशलाई कुनै पनि प्रकारको चुनौति नरहेको नेटोले स्पष्ट पारेको छ ।

Loading...