कता जाँदै छ समाज ?

विराटनगर, ७ भदौ । दृष्टान्त १
काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी दिए। बानेश्वर वृत्तबाट प्रहरी टोली आएपछि उनीहरू पछि हटे।

दृष्टान्त २

रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। विश्वबन्धु बगालेलाई कोरोना संक्रमण भयो। जनप्रतिनिधिसहित छिमेकीले उनलाई ढाडस दिनुपथ्र्यो। तर संक्रमितको घर भन्दै ब्यानर टाँग्न प्रयत्न गरे।

दृष्टान्त ३

विराटनगरका डा. ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण पुष्टिपछि परिवारका सदस्यलाई हाउजिङमा बस्न असहज भयो। हाउजिङमा बस्ने अन्यले अवरोध गर्न खोजे।

दृष्टान्त ४

सुनसरीको इटहरी–५ का २७ वर्षीय युवकलाई अस्पतालबाट डिस्चार्जपछि घर जाँदा छिमेकीले बस्न दिएनन्। उनी भन्छन्, ‘रोगले भन्दा समाजले मार्ने रहेछ।’

दृष्टान्त ५

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा तल्लीन चिकित्सक दुर्व्यवहारमा परे। उनीहरूविरुद्ध नारा नै घन्कियो।

दृष्टान्त ६

चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टिपछि उनको परिवारलाई छिमेकीले तनाव दिए। घरवरिपरि डोरी टाँग्न वा पोस्टर टाँस्न दबाब दिए।

०००

कोरोना संक्रमणको अवस्था, जटिलता र यसको प्रकृतिबारे थाहा नपाउँदा हाम्रै समाजमा भएका दुर्व्यवहारका केही दृष्टान्त हुन्, यी। त्यो पनि सहरी क्षेत्रमै यस्ता घटना भएको देखिन्छ।

नागरिकको जीवनरक्षा गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी हुन् वा अन्य, उनीहरूप्रति सद्भाव राख्नुको साटो हेलापूर्ण व्यवहार भइरहेको छ। यस्ता घटनाले गम्भीर प्रश्न खडा गरेको छ, हाम्रो समाज कता जाँदै छ ? सहिष्णु भनिएको नेपाली समाजमै यस्ता घटना बढ्न थालेपछि विज्ञहरू चिन्तित बनेका छन्।

स्वास्थ्यकर्मीको मेहनतका कारण नेपालमा कोरोना संक्रमण र मृत्युदर अन्य मुलुकको तुलनामा न्यून देखिएको छ। अन्य मुलुकमा स्वास्थ्यकर्मीको सम्मान भइरहँदा नेपालमा भने शृंखलाबद्ध रूपमा दुर्व्यवहारका घटना देखिन थालेको छ।

कोरोना देखिएसँगै स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन्। थुप्रै स्वास्थ्यकर्मीले महिनौंदेखि परिवारसँग भेट गर्नै पाएका छैनन्। कतिपय त संक्रमितको उपचारकै क्रममा संक्रमणमा परेका छन्।

संक्रमित भएका चिकित्सकलगायत स्वास्थ्यकर्मीको संख्या १ सय ३० पुगेको छ। संक्रमितमध्ये ८२ जना नर्स छन्। १९ जना काठमाडौंमा रहेको नेपाल चिकित्सक संघले जनाएको छ।

‘आफ्नै ज्यान जोखिममा राखेर संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मी आफैं आईसीयूमा उपचाररत छन्’, संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘अरू मुलुकमा बाजा बजाएर, दियो बालेर, थपडी बजाएर स्वास्थ्यकर्मीको मनोबल बढाइँदै छ। हाम्रोमा भने त्यसको ठीक उल्टो स्वास्थ्यकर्मी नै दुर्व्यवहारमा परिरहेका छन्।’

संक्रमणविहीन, संक्रमित र उपचारपछि संक्रमणमुक्त स्वास्थ्यकर्मीप्रतिको दृष्टिकोण नकारात्मक देखिएको छ। जस्तोसुकै व्यवहार भए पनि संक्रमणबाट मुक्त स्वास्थ्यकर्मी फेरि संक्रमितको उपचारमा दत्तचित्त भएर लागेकै छन्।

‘संक्रमणपछि काठमाडौं गएर उपचार गराएँ’, संक्रमणमुक्त प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कार्की भन्छन्, ‘अरू संक्रमितले मजस्तो उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर आफैंले कोभिड अस्पताल सञ्चालन गरिरहेको छु।’ बालरोग विशेषज्ञ डा. बगाले त प्लाज्मा दान दिनै तयार छन्।

संघका अध्यक्ष डा. कार्कीका अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मी दिनहुँजसो संक्रमणमा परिरहेका छन्। ‘बिरामीको सेवामा खटिँदा आफैं संक्रमित हुनु परेको बेला टोल, समाजबाट भइरहेको दुर्व्यवहारले थप दुःखी बनाउँछ’, उनी भन्छन्, ‘तर, त्यो सबै भुलेर धेरै स्वास्थ्यकर्मी तनावबीच पनि निरन्तर सेवा दिइरहेका छन्। समाजको व्यवहारले स्वास्थ्यकर्मीलाई नै मनोपरामर्श दिनुपर्ने अवस्था आएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्यकर्मीलगायत कोरोना संक्रमित जो कोहीलाई दुर्व्यवहार गर्नेविरुद्ध कारबाही चलाइने बताउँछन्। ‘दुर्व्यवहारका घटना बढ्दै गए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौं’, प्रवक्ता डा. गौतम भन्छन्।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल अप्ठ्यारो परिस्थितिमा पनि स्वास्थ्यकर्मीले तदारुकताका साथ कार्य गरिरहेको बताउँछन्। ‘सामान वा औषधि सकिए खरिद गर्न सक्छौं। तर, स्वास्थ्यकर्मीलाई केही भइहाले रिप्लेस गर्न सक्दैनौं’, उनी भन्छन्, ‘स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउनुपर्छ र मनोबल पनि बढाउनुपर्छ।’

भावनात्मक दूरी निकट राखौं

कोरोना संक्रमण वृद्धिसँगै एकअर्काबीच भावनात्मक सम्बन्धमा दूरी बढेको छ। मिलिजुली बसेको नेपाली समाजको प्रवृत्ति कोरोनाले फेरिदिएको छ। भौतिकसँगै भावनात्मक दूरी बढाइएको छ। संक्रमितप्रति सद्भाव राख्नुपर्नेमा उल्टै दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ।

मानवशास्त्री सुरेश ढकाल महामारीका बेला व्यक्तिले गर्ने व्यवहार पनि फरक हुने बताउँछन्। ‘सामाजिक दूरी कायम गरौं भन्ने सन्देश नै विभेदकारी हो। सामाजिक दूरी कायम गर्ने सन्देशले समाजमा घृणाको बीउ रोप्ने काम गर्‍यो’, उनी भन्छन्, ‘कोरोनाका बारेमा पर्याप्त र सही सूचना समाजको तल्लो वर्गसम्म नपुगेकाले पनि फरक व्यवहार देखिएको हुन सक्छ।’

कोरोना संक्रमण कसरी हुन्छ ? एकअर्कामा कसरी सर्छ ? यसबारे सही सूचना समयमा प्रवाह हुन नसक्दा धेरै जना अन्योलमा छन् । एचआईभी÷एड्स रोगका सम्बन्धमा पनि सुरुवाती चरणमा धेरै जना त्रसित भएको उनको भनाइ छ। ‘कोरोना संक्रमणबारे पनि पर्याप्त जनचेतना नै भएन’, उनी भन्छन्, ‘सर्वसाधारणले सजिलो गरी बुझ्ने हिसाबले जनचेतना फैलाउन सकिएन कि जस्तो लाग्छ। त्यसैले पनि जनमानसमा त्रास व्याप्त छ।’

संघका अध्यक्ष डा. कार्की कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने भएकाले कसैले पनि संक्रमितलाई छिः छिः दुरदुर गर्न नहुने बताउँछन्। ‘रोग लाग्नु अपराध होइन। संक्रमितको हौसला बढाउनु र मनोबल उच्च बढाउनुपर्ने बेला उल्टै अपराधीलाई जस्तो व्यवहार गरेर हामी समाजलाई कता लैजान खोज्दै छौं ? ’, उनको प्रश्न छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...