Rumpum

Rumpum Advertisement

च्याम्पियन्स लिगको उपाधिका लागि बायर्न र पीएसजी भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि  बायर्न र पीएसजी भिड्दै

एजेन्सी, ७ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज उपाधि भिडन्त हुँदैछ । आज नेपाली समयानुसार राति १२ः४५ बजे च्याम्पियन्स लिगको उपाधि जित्न जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यस खेलमा बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ ।

यता, बायर्न भने छैटौं पटक उपाधि जित्ने दाउमा छ । उसले १९७४ देखि ७६ सम्म लगातार तीन सिजन र २००१ तथा २०१३ गरी पाँच पटक उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल पुगेर उपाधिविहीन बनेको थियो ।

बायर्न र पीएसजीले च्याम्पियन्स लिगमा आठ पटक भेट गरेका छन् । समूह चरणअन्तर्गत भएका भेटमा पीएसजीले पाँच पटक र बायर्नले तीन पटक जित निकालेका छन् । पछिल्लो पटक २०१७ मा यी दुईले एक–अर्काको सामना गरेका थिए ।

पीएसजी पहिलोपल्ट फाइनल पुग्ने ४१औं टोली हो । पहिलो पटक फाइनल पुगेका पछिल्ला ६ टोलीले उपाधि जित्न सकेका छैनन् । पछिल्लो पटक बोरुसिया डर्टमुण्डले १९९७ मा पहिलोपल्ट फाइनल पुग्दै उपाधि जितेको थियो । डर्टमुण्डले इटालियन क्लब युभेन्टसलाई हराउँदै उपाधि उचालेको थियो ।

घरेलु लिगतर्फ बायर्न जर्मन बुन्डेसलिगा च्याम्पियन हो भने पीएसजी फ्रेन्च लिग वान च्याम्पियन हो । पीएसजीले यस सिजन तीन उपाधि आफ्नो बनाइसकेको छ । र, च्याम्पियन्स लिग जित्दै सिजनको चौथो उपाधि उचाल्ने दाउमा छ ।

यता, बायर्न यस सिजन ‘गोल मेसिन’का रूपमा प्रस्तुत हुँदै आएको छ । यस सिजन सबै प्रतियोगिता गरी बायर्नले ५१ खेलबाट १५८ गोल गरेको छ ।

अब, थोमस टुचेलको क्लब पीएसजीविरुद्ध ३ गोल गरेमा बार्यनले बार्सिलोनाले बनाएको एक सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोड्नेछ । सन् १९९९–२००० को सिजनमा बार्सिलोनाले च्याम्पियन्स लिगमा ४५ गोल गरेको थियो ।

यसैगरी यस सिजन उच्च फर्ममा रहेका बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पोर्चुगिज स्टार क्रिस्टियानो रोनाडोको कीर्तिमानसँग बराबरी गर्ने दाउमा छन् ।

यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका ३१ वर्षीय लेवान्डोस्कीले थप दुई गोल गरेमा रोनाल्डोले २०१३–१४ मा बनाएको एकै सिजन धेरै गोल गर्ने खेलाडीको रेकर्डसँग बराबरी गर्नेछन् ।

सो सिजन रोनाल्डोले १७ गोल गरेर सिंगल सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

पोलिस स्टार लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगिता गरी ४६ खेल खेल्दा ५५ गोल गरेका छन् । पछिल्ला ९ च्याम्पियन्स लिग खेलमा उनले गोल गर्दै आइरहेका छन् ।

यसअघि पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हाे ।

बायर्नले भने फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।