प्रधानमन्त्रीमा ओलीलाई पूर्ण कार्यकाल

विराटनगर, ७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन् ।

पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बुझाएको प्रतिवेदनमा सो सुझाव समावेश गरिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए । उनका अनुसार सर्वसम्मत रूपमा तयार गरिएको सो प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीको बैठकमा प्रस्तुत हुनेछ ।

त्यहाँबाट पारित भएपछि कार्यान्वयनमा आउने उनले बताए
पछिल्लो समय नेकपाका अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने चर्चा पार्टीमा चलेको थियो तर अध्यक्षद्वयको सहमतिमा गठन भएको कार्यदलले नेकपाका अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने र प्रधानमन्त्री ओली पूर्णकाल प्रधानमन्त्रीमा रहने सुझाव दिइएको छ । दुवै अध्यक्षको बीचमा गत वर्ष मङ्सिरमा भएको सहमतिलाई नै कार्यान्वयनमा लैजाने सुझाव दिइएको छ ।

मङ्सिर ४ गते नेकपा अध्यक्षद्वय ओली र अध्यक्ष प्रचण्डबीच भएको सहमति अनुसार पार्टीमा दुवैजना अध्यक्ष रहने, प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा र ओली अध्यक्षसहित पाँच वर्षसम्म प्रधानमन्त्री रहने सहमति भएको थियो । यद्यपि पार्टी तथा सरकारको काम दुवै अध्यक्षको सल्लाहमा हुने सुझाव दिइएको कार्यदलका अर्का सदस्य जनार्दन शर्माले जानकारी दिए ।

साउन ३० गते अध्यक्षद्वयको सहमतिबाट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले सर्वसम्मतिले सो प्रतिवेदन तयार पारेको हो । महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, जनार्दन शर्मा, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका थिए ।

विभिन्न १४ बुँदामा समेटिएको प्रतिवेदनमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई प्रभाकारी बनाउन पार्टीलाई परिचालन गर्ने, कोभिड–१९ महामारी रोकथामका लागि पार्टी तथा सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा पार्टी केन्द्रीय कमिटीको बैठक कोरोना नियन्त्रणपछि मात्र बस्ने सुझाव कार्यदलले दिएको कार्यदलका एक सदस्यले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पास नगर्ने, पार्टीबाट आएको सुझावसहित त्यसलाई परिमार्जन गरेर मात्र पारित गर्नेसमेत कार्यदलले सुझाव दिएको छ ।

पार्टीमा देखिएको आन्तरिक विवादको समाधानका लागि महाधिवेशन नै उपयुक्त हुने सुझाव दिएको र चैत मसान्तभित्र त्यसलाई सम्पन्न गर्नुपर्ने ती सदस्यले बताए । साथै भारतसँग देखिएको सीमा विवादलाई राजनीति र कूटनीतिक माध्यबाट समाधान गर्न पनि कार्यदलले सुझाव दिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...