उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

विराटनगर, ७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् ।

काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो ।

शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।

भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजिस्ट केन्द्रीय विभागीय प्रमुख मेघराज बन्जाराले नेपालमा नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेकाले सङ्क्रमित घट्न नसकेको बताए । बन्जाराले बन्दाबन्दी खुलेपछि नागरिकले जनस्वास्थ्यका नियम पालना नगरेको भन्दै सङ्क्रमण शून्य भएका देशमा पनि कुनै चमत्कार नगरी जनस्वास्थ्यका नियम मात्र पालना गरेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...