बल्ल आइसोलेसन शैय्यामा जुटे चितवनका स्थानीय तह

चितवन, ६ भदौ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीय तहले धमाधम आइसोलेसन शैय्या बनाउन सुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले बागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आइसोलेसन बनाउन थालेका छन् ।

भरतपुरले योगी नरहरिनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दै छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले सयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर–५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्ने जनाएका छन् । माडी नगरपालिकाले माडीले छरछरेमा यसअघि नै आइसोलेसन तयार गरेको थियो । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एकजना मात्र सङ्क्रमित भरतपुरमा अस्पताल रहँदा सङ्क्रमित देखिएकाले आइसोलेसन बनाइसकेको छैन ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले बागेश्वरीको योगी नरहरिनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिए । यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको उनको भनाइ छ । महानगरभित्र ५० वटा क्वारेन्टिन सञ्चालन गरेको महानगरले पहिलो पटक कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइसकेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बागेश्वरी आइसोलेसनमा तत्काल ९० जना र पछि दुई सय जनासम्म राख्न सकिने बताए । प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिन लागिएको उनको भनाइ छ ।

पूर्वी चितवनका चार नगरपालिकाले कोरोनासँग संयुक्तरुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रत्ननगर–५ झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ शैय्याको आइसोलेसन आजबाट सुरु गरिँदैं छ । आवश्यक भएमा सोही ठाउँमा १०० जना राख्न सकिने उनले बताए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बिरामी थपिँदैं गएमा आइसोलेसन बिस्तार गरिँदैं लगिने जानकारी दिइन् ।

नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी संस्थालगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि वागमती प्रदेशसँग पनि उनीहरुले माग गरेको जनाएका छन् ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो । त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । विरामी बढेमा थप ठाउँ व्यवस्थापन गरिने उनले जानकारी दिए । यस्तै पूर्वी चितवनको राप्तीमा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर–३ गढीमाई बाहिनीभित्र आइसोलेसन बनाइएको छ । बाहिनीमा हाल ४९ जना सशस्त्रका सङ्क्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार राखिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्क्रमित, आशंका गरी स्वाब सङ्कलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक–फरक स्थानमा राखिएको छ ।

स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा एक सय १३ सङ्क्रमित निको भएको, एक सय ८६ सक्रिय सङ्क्रमित रहेको र तीनजनाको मृत्यु भएको छ । कुल सङ्क्रमितको सङ्ख्या तीन सय २३ पुगेको छ । भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल सङ्क्रमित रहेका छन् । लक्षण नदेखिएका सङ्क्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने भएको छ । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निर्णय गरेको छ ।

प्रजिअ भट्टराईले सबैलाई निषेधाज्ञाको पालना गर्न जिल्लवासीसँग विशेष अनुरोध गरेका छन् । जिल्लामा दोस्रो हप्ताको निषेधाज्ञा आजबाट सुरु भएको छ । यहाँ देशका बिभिन्न क्षेत्रबाट बिरामीहरु उपचारका लागि र कामदारहरु काम गर्नका लागि आउने भएकाले कोरोना सङ्क्रमण दैनिक बढ्दै गएको जनाइएको छ । रासस

Loading...