Rumpum

Rumpum Advertisement

सीमा

सीमा

सुष्मा रानाहंमा

समयले कोल्टे फेर्छ भन्थे
तर किन भिजाइरहेछ आफ्नै सिरानीले
समाचार पढ्छु देशको
लामो सुस्केरा छुट्छ अनायास
यति हुँदाहुँदै–
फर्किनु त छँदैछ, आफ्नै जिन्दगीको लयमा ।

निथ्रुक्क रूझ्छु पसिनाले
आहा
कति मिठो पसिनाको गन्ध
बेस्सरी कुँडिन्छ मन ।

केहीबेर निदाएको थिएँ हिजो राति
सानी नानीहरू छेउमा बसेर
पेन्सिलले देशको नक्सा कोर्दै–मेट्दै थिए सपनामा
अचानक भेरीमा बाढी आयो
केही थान प्रेमिल सपनाहरू बगाए
छुट्याइदियो तिम्रो मेरो बीचको सीमा छुत–अछुतको ।

मनमा त उठाएकै हुँ देशको सीमामा काडेतारको बार
खै ! कहाँ लडेको छौ र माटो स्वतन्त्रताको मुक्ति युद्ध ?
विभेद, अत्याचार उठेको दम्भमाथि युद्ध ?
अब साँच्चै लड्नु छ
बाह्य र आन्तरिक कोलनीमाथि युद्ध ।

खैर, सरकार
सामाजिक सीमा तोकिरहेछ
भोकको सीमा बढ्दो छ
रोगको सीमा मौलाउँदो छ
राष्ट्रको सीमा खुम्चँदो छ
विभेद, असमानताको सीमा उम्दो छ ।

देश बिरामी छ
सीमाहरू बिरामी छ
त्यसैले
समयले, माटोले फिडेल क्यास्टो खोजिरहेछ ।