तारा

सुनिता राई कन्दङ्वा

म कार्यालयबाट घर फर्कदै थिएँ, बाटोमा पँधेरीबाट फर्कदै गरेकी तारालाई भेटेँ ।

‘साइत पारेकोमा धन्यवाद तर घरमा आमासँग किचनमा हात नबटारी चित्त बुझ्दैन ।’ उनी मुसुक्क मुस्कराइन् र आफ्नो घर जान आग्रह गरिन् । मैले उनको वचन हार्न सकिनँ र हुन्छ भन्दै गयौं ।
घरमा उनका दुई छोरी शुभ र सन्ध्या आमाकै बाटो हेरिरहेका थिए । हामीलाई देख्नासाथ रमाए, ताराले गाग्रो राख्दै भनिन्, ‘आन्टीलाई नमस्ते गर ।’ दुबैले आज्ञापूर्वक नमस्ते गरी आमाको पछाडि लुके लजाउँदै ।

ताराले मलाई बस्ने पिर्का ल्याइदिइन् र गफैगफमा मिठो चिया पनि । उनी दुई छोरीलाई बेलुकाको खानपिन गराउँदै थिइन् । मैले मनमनै सोचेँ, यिनी कति चानसिली छिन् साथै गुणवान पनि । मेरो नजरमा उनी (तारा) असल छोरी, बुहारी, पत्नी र आमा हुन् तर यिनको लोग्ने त्यति समझदारी लाग्दैन । यिनलाई अरुबाट लिन आउंँदैन, दिन र सहयोग गर्न राम्ररी आउँछ । त्यसैले म यिनलाई आदर सम्मानको दृष्टिले हेर्ने गर्छु । अब यिनको सानी छोरी सन्ध्या स्कुल जाने भएपछि, यिनलाई म कतै राम्रो ठाउँमा जागिर लाइदिने सोचमा छु ।

‘होइन दिदी चियाको सिङ उम्रिन लाग्यो चिसिएर, हजुर कता हराउनु भो ?’ यसरी प्रश्न गर्दै मेरो गाडीको सुकुलमा बसिन् । ‘मैले शुभ र सन्ध्यालाई खुवाईपियाई गरी सुत्न पठाएँ, अब हजुरसँग मजाले पलेटी कसी केही थोत्रामोत्रा दुःखका पोकाहरु खोल्नु प¥यो’ भन्दै उनी हाँसिन् तर त्यस हाँसोको पछाडि लुकेको पीडालाई महसुस गर्न मलाई त्यति मुस्किल थिएन ।

तैपनि म अन्जान बनी सोधेँ, दुई सुन्दर सन्तान पति–पत्नी जे भए पनि सानो र सुखी परिवार छ ! ताराले मलिन अनुहार पारिन् र मन्द गतिमा हाँसिन् मात्र । मैले उनलाई अझ गहिरिएर बुझ्ने प्रयास गरेँ र प्रश्न पुनः घुमाएर गरेँ, ‘अनि जिन्दगीको रथ त ठिकठाक नै चलेझैँ देखिन्छ तर तिम्रा भावुक आँखाहरुले केही बोल्न खोजेझैँ लाग्छन् ! मैले गरेर केही हुन्छ भने म तयार छु ।’ मेरो वाक्य पूरा नहुँदै उनका आँखाहरु रसाउन थाले । त्यो आँशु कतै लुकाउन छोप्न सकिनन्, रोइन्, भक्कानिएर रोइन् !

म, मेरो छक्क परेको स्वभाव आफैं सम्हाल्दै उनलाई थम्थमाएँ र सम्झाउन थालेँ ।
यी यावत कुराहरुको कारण बुझ्न आँशुसरि धुमिलो वातावरण चिर्दै भनेँ, ‘हेर म एक समाजसेवीका भएको नाताले मात्र होइन एक महिला भएको नाताले अर्को महिलामाथि भएको यसखाले अत्याचार, हिंसा रोक्न हरसम्भव प्रयास गर्ने छु !’

‘तिमी मलाई समाजसेवी होइन एक आफ्नो दिदी सम्झी अलिकति पनि नहिच्किच्याई आफ्नो
समस्या राख, अप्ठेरो मान्नु पर्दैन ।’ त्यसपछि तारा आँशुका धारा पुस्दै केही अशुद्ध भाकामा आफ्नो मनको पोको फुकाउन थालिन् ।

‘दिदी म यति असहाय र पिल्सिएकी छु कि मेरो मनभित्रका लहराझैँ जेलिएका तन्त्रारुपी व्यथाहरुलाई म कसरी, कहाँबाट सुरु गरौँ ?’

तारा यसरी भक्कानिएर रुनु चट्टानभित्रबाट आगोको लाभा बिस्फोट भई निस्कनुभन्दा कम थिएन । म स्तब्ध, सुस्केरा तान्दै सहानुभूतिको भावमा भनेँ, ‘यसरी रोएर तिमी आफैंलाई कमजोर पार्दैछौ, तिमी मेरो नजरमा एक साहासिक, हिम्मतिली पत्नी र आमा हौ !’ सायद उनलाई आत्मवल बढ्यो क्यारे ! ‘दिदी के छोरी भएर जन्मनु वा छोरी हुनु अभिषाप हो ?’

म एकछिन अलमलमा परेँ यस प्रश्नले । मैले केही बोल्न नपाउँदै तारा बोलिन्, ‘दिदी जब मेरो दोस्रो सन्तान पनि छोरी नै जन्मिइन् आकाश (पति) र ममा साँच्चै आकाश र धर्तीझैं दुरी ल्याइदिएको छ तर मलाई छोरीछोरी भएकोमा कुनै दुःखमन, गुनासो छैन तर आकाशको परिवर्तित व्यवहारले म छोरी भएर किन जन्मेछु भन्ने महसुस गराउँछ, बारबार गराउँछ ।’

पर्दाभित्र ताराजस्ता कति होलान् विभिन्न समस्यमा पिसिएका दिदीबहिनीहरु । मलाइ ताराको कुराले बडो खल्लो, मर्माहत तुल्यायो र ती गुनासापूर्ण आक्रोशहरू … ।

उनी निरन्तर बोल्दै गइन्, ‘दिदी, लाग्छ किन छोरी भएर जन्मेछु यस धर्तिमा, आफैंदेखि आफ्नो जीवन बोझ लाग्छ कहिले काहीँ ।’ मैले उनको बगिरहेको आँशु पुछ्दै सम्झाएँ, हिम्मात दिएँ, ‘हेर छोरी भएर जम्निनु त भाग्यमा लिएर आएको हुनु पर्छ, छोरी सृष्टिकर्ता हुन्, छोरी दया, ममताकी खानी हुन् अनि छोरी शक्तिस्वरुपेणी, महाकाली हुन् … ।’

बीचैमा ताराले कुरा गाँसिन्, ‘हो दिदी, मलाई थाहा छ, आकाशको हर वचन र व्यवहारले मलाई कायर बनाएको छ दिदी । जब म केही खान्छु मेरो हरेक गाँसमा उसको नमिठा बेरसिलो वचनहरु घाँटीबाट जबरजस्ती खस्रक्क निलेझैँ लाग्छ । कहिले काहीँ त के गरु कसो गरौं हुन्छु ! यी सम्पूर्णको कारकतत्व दोस्रो पनि किन छोरी पाइस् ? अब तेरो र मेरो जिन्दगी यहाँबाट अघि बड्न सक्दैन रे ! दोस्रो चाहना मेरो छोरी थिएन, छोरा थियो रे ! इत्यादि भनेर निहु खोज्नु, पिएर घर आउनु, झगडा गर्नु अब त सामान्य भइसक्यो उसलाई दिदी । म चुपचाप सुन्दै रहेँ ती तीता तरंगहरु ।

उनी भन्दै गइन्, ‘यस्तो वातावरणमा यी कलिला कोपिलालाई जोगाउन हम्मे परेकी छु । वरिपरिका छरछिमेकहरुसँग शीर ठाडो पारी बोल्न पनि गाह्रो भैसकेको छ मलाई । एक पत्नीले गर्नु पर्ने हर उपाय, जरा अपनाएँ तर समस्या ज्यूँका त्यूँ ? बरु अझ बढे ! यसको अर्थ म असफल हुनु हो, मेरो हार भइसक्यो, त्यसैले म आज यति पिल्सिएकी छु । अहिले यस स्थितिमा म मर्न पनि सक्दिनँ, यी दुई बच्चीको पाप लाग्ने छ । बाँच्न इति मन छैन मलाई ।’

ताराको यी कुराहरुले मेरो मन मस्तिस्क छियाछिया भो । मैले उसलाई थुम्थुमाउँदै भनेँ, ‘म सब समस्याको हाल गर्ने हरसम्भव प्रयास गर्ने छु । तिमी आकाशलाई फकाई–फुल्याई भोलि घरमा बस्न आग्रह गर । म भोलि आउनेछु उसलाई भेट्न र यी सारा समस्याको उल्झनलाई सुल्झाउने पूर्ण प्रयास गर्नेछु । उसको मुटु कुनै ढुंगाबाट बनेको छैन तसर्थ सम्झाउँदा पक्कै सम्झिने छ । ल, निकै साँझ पनि प¥यो, अब म लाग्छु । भोलि आउनेछु ।’

‘म माफी चाहन्छु दिदी, मैले धेरै बेर अल्मलाएँ ।’

‘होइन यसमा त्यस्तो माफी माग्नु पर्ने कुरा छैन, तिमीले त ठिक ग¥यौं । सब कुरा समयमै बाहिर निकाल्यौं, अत्याचार धेरै सहे पाप हुन्छ ।’ भन्दै म अँध्यारो चिर्दै अघि बढेँ ।

कहिले परिवर्तन होला हाम्रो समाज र समाजका सोचाइ, ताराका कुराले बाटो काटेको पनि पत्तै भएन, कति छिटो घर आइपुगेछु । आज मलाई केही हेर्ने, पढ्ने, बोल्ने जाँगर छैन । कतिखेर बिहान हुन्छ र ताराको घर जाउँ, तिनीहरुबीच भएको उल्झनलाई सुझ्याउँ … बस् ! खानपिनपश्चात सरक्क गएँ बेडमा । आज खानाको स्वाद पनि पाइनँ मैले । खोइ के खाएँ, थाहा भएन, कस्तो थियो स्वाद त्यो पनि थाहा भएन ।

रातभरि आँखा वरिपरि तारा नाचिरहिन् । उफ् …रात पनि कति लामो बल्लबल्ल बिहान भो । नयाँ बिहानसँगै नयाँ उमंग, सपना र सोच लिई चियापान गरी लागेँ ताराको घरतिर । कालो बिरालोको ओहोरदोहोर बाटोमा … छेत्–छेत् सित्–सित् … भाग भन्दै अघि बढेँ । माथि आकाशमा कागहरु निकै रोदनका साथ कराउँदै फनफनी घुम्दैथे । म एकचित्त भई अघि बडिरहेँ ।

ताराको घर नपुग्दै परैबाट केही मान्छेहरुको भीड देखेँ । सोचेँ लौ आज मौका गुम्यो, पाहुना पो छन् क्यारे घराँ त ! के गरुँगरुँ भो । मेरा पाइलाहरु फर्कन मानेनन्, चहलपहल अलि फरक किसिमको थियो । केही अगाडि बढेर एक सज्जनलाई सोधेँ, ‘होइन यो केको चहलपहल होला ?’

उत्तर तुरुन्त आयो, ‘खोइ गएराति आकाश निकै मातेर आएछ र सदाझैँ स्वास्नीसँग पर्न परेछ झपड, बेहोसीको झोकमा घाँटी न्याकिदिएछ र सदाका लागि बिदा दिएछ स्वास्नीलाई …। म माथि छाँगाबाट गर्लम्मै तल चट्टानमा बजारिएझैँ भएँ ।

आकाशको अनुहारमा थुक्क भन्न मन लाग्यो । स्वास्नी हत्यारा ! फूलजस्ता दुई छोरीको आमा छिन्ने पापी बाबु, पापी पति सावित भए आज । हिजो मात्र मसँग रुँदै आफ्नो दुःख पोखेकी तारा आज म उसैको लागि सबेरै उठिकन आएँ तर यहाँ त परिस्थितिको नियतिले कोल्टे फेरिसकेछ । म थच्च बसेँ भुइँमा, हातखुट्टाहरु लल्याकलुलुक भए । दिमागले काम गर्न छोड्यो, वातावरण स्तब्ध भो, संसारै कालो बादलले ढाकेझैँ भान भो । ती दुई बच्चीलाई आफन्तले लगे, केही छिनपछि आकाशलाई पुलिसले हतकडी हाली लगेको देखियो ।

‘तँलाई धिक्कार छ, पत्नी–हत्यारा’ भन्दै मनको पोको मनमै निलकण्ठ पारी फर्केँ ।

Loading...