खोलामा बगेर बालिकाको मृत्यु

चितवन, ६ भदौ । राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ रहेकी छन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमाछोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङलाई शुक्रबार दिउँसो बगाएर राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिइन् । घटनास्थलमा आज प्रहरी जाँदै गरेको उनले बताइन् ।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।

Loading...