गण्डकी प्रदेशमा २४ जना थप संक्रमित

पोखरा, ६ भदौ । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एकजनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ ।

डा शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सातजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेसनमा २६९ जना रहेका छन् । हाल आइसोलेसनमा सक्रिय रहेका २४७ केस छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् । त्यसैगरी भारतबाट १२ हजार ९१५ र तेस्रो मुलुकबाट छ हजार १९८ गरी जम्मा १९ हजार ११३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।

Loading...