कोरोना महामारी नियन्त्रणमा आउन दुई वर्षभन्दा बढी लाग्न सक्ने

विराटनगर, ६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा आउन दुई वर्षभन्दा बढी समय लाग्न सक्ने बताएका छन् ।

उनले कम्तीमा पनि दुई वर्षभित्रमा नियन्त्रणमा आउन सक्ने बताउँदै त्यो भन्दा बढी समय पनि लाग्न सक्ने उल्लेख गरेका छन् । शुक्रबार जेनेभामा बोल्ने क्रममा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गरिएको बताए ।

उनले प्राविधिक सक्षमताले महामारी नियन्त्रण गर्न दुई वर्षभन्दा कम वा त्यो भन्दा बढी पनि लाग्न सक्ने उल्लेख गरे । डब्लुएचओले संक्रमण थप फैलन सक्ने अवस्था कायमै रहेको जनाएको छ ।

गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा जोड दिएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो। कोरोना भाइरसका कारण विश्वभर आठ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । दुई करोड ३० लाख बढी संक्रमित भएका छन् ।

उनले कोरोना नियन्त्रणका समयमा हुने कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नरहेको बताएका छन्। विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका सामग्री खरिदका बेला भ्रष्टाचार भएका घटना सार्वजनिक भएपछि गेब्रेयेसोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Loading...