अमेरिकामा हुलाक मार्फत हुने मतदानको बहस तीव्र

विराटनगर, ६ भदौ । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनमा हुलाकमार्फत हुने मतदानका विषयलाई लिएर तीव्र बहस सुरु भएको छ ।

अमेरिकाको हुलाक सेवाका प्रमुखले नोभेम्बरमा हुने चुनावका लागि हुलाक मार्फत हुने मतदानको व्यवस्थापनमा पूर्णरुपमा सक्षम र प्रतिवद्ध रहेको बताएका छन्। पोस्टमास्टर जनरल लुइस डीजोयले संसदीय समितिमा हुलाक मार्फत हुने मतदानलाई निरन्तर प्राथमिकतामा राखिने बताएका हुन्।

हालै हुलाक सेवामा गरिएको नीतिगत परिवर्तन यो वर्षको चुनावलाई प्रभावित पार्ने उद्देश्यले नभएको दाबी संसदीय समिति समक्ष उनले गरेका छन्। हुलाक मार्फत हुने मतदान अहिले चुनावी अभियानको प्रमुख मुद्दा बनिरहेका बेला हुलाक सेवाको नयाँ आपूर्ति रणनीतिले मतदानलाई प्रभावित पार्न सक्ने भन्दै डेमोक्र्याटिक पार्टीका नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प हुलाकबाट हुने मतदानको विपक्षमा रहेका छन्। उनले हुलाक मार्फत हुने मतदानलाई गरिने सहयोग अस्वीकार गरेका छन् ।

तर डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका समयमा चाहने जति सबैले हुलाक मार्फत मत दिन पाउने व्यवस्था गर्नु पर्ने बताउँदै आएका छन्। कोरोनाले मतदानमा प्रत्यक्ष सहभागी हुन गाह्रो पर्ने भन्दै उनीहरुले हुलाकमार्फत मतदानमा जोड दिएका छन् ।

Loading...