आज गणेश चतुर्थी

विराटनगर, ६ भदौ । गणेश चतुर्थी पर्व भगवान गणेशको पूजा आरधना गरेर आज (शनिबार) मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा गरिन्छ । सत्ययुगमा यही दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।

विगतमा विभिन्न मन्दिरहरुमा धुमधामका साथ पूजा गरेर मनाइने यो पर्व यस वर्ष भने कोरोना भाइरस महामारीका कारण सम्भव भएन । भक्तजनहरुले घरमै बसेर पूजा गर्नु पर्ने अवस्था छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजनको ब्रत पारायण गरी गणेशको व्रत गर्ने मान्यता छ ।

भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजमा सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा कुनै पनि बाधा नआओस भनेर गणेशको पूजा गर्छन् । केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट मुलुकका मुख्य शहरमा गणेश रथयात्रा पनि निकाल्न थालिएको थियो । तर यस वर्ष कोरोना महामारीका कारण रथयात्रा निकाल्न नपाइने भएको छ ।

Loading...