तलबविहीन नबनाउन आग्रह

विराटनगर, ६ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गरेका छन् ।

श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलब दिन नै समस्या छ भने सरकारले कोरोना कोषबाट लामो समयका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने छ भन्दै अर्थमन्त्रीसमेत रहको खतिवडाले त्यस विषयमा वित्तीय संस्था तथा वाणिज्य बैङ्कसँग कुराकानी भएको जानकारी दिए ।

नेपाल प्रेस इन्स्टिच्युट र बोर्नमथ विश्वविद्यालयले संयुक्त रूपमा तयार पारेको कोभिड–१९ ले नेपालको पत्रकारिता क्षेत्रमा पारेको प्रभाव’ सम्बन्धी राष्ट्रिय सर्वेक्षण प्रतिवेदन शुक्रबार बुझ्नु भएपछि मन्त्री डा. खतिवडाले यस्तो विचार राख्नुभएको हो । उनले आर्थिक सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न सञ्चार गृहसँग आह्वान गर्दै पत्रकार लगायतले वैकल्पिक पेसामा जान नसक्ने भएकाले सञ्चार गृहलाई चालू पुँजी उपलब्ध गराउन सरकार तयार रहेको जानकारी दिए ।

पत्रकारले पाउने पारिश्रमिक उपलब्ध गराउन सञ्चार गृहसँग आग्रह गर्दै मन्त्री खतिवडाले सञ्चार गृहले तिर्नुपर्ने करमा सरकारले धेरै कर घटाएको र पत्रकारको न्यूनतम पारिश्रमिक तोकिएकले कम्तीमा पनि त्यो पारिश्रमिक सबैले पाउनुपर्ने र क्षमता हुनेले धेरै सुविधा दिन सक्न्ने बताए ।

पत्रकारले कार्य क्षेत्रमा खटिँदा आवश्यक सुरक्षा उपकरणको प्रयोग गर्नुपर्ने र पत्रकारको सुरक्षाका लागि सम्बन्धित सञ्चार गृहले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । प्रतिवेदनमा पत्रकारका लागि भौतिक, आर्थिक र सामाजिक सुरक्षाको खाँचो औँल्याएको उनले बताए ।

प्रतिवेदनले पत्रकारलाई मनोवैज्ञानिक र आर्थिक रूपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ । २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सातवटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुने गरी एक हजार १३४ जना क्रियाशील पत्रकारबीच गरिएको सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ ।

सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशतले चिन्ता बढेको र ६२ प्रतिशतले आफूहरू दुःखमा परेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशतले भने आफूहरू चरम निराशाबाट ग्रसित रहेको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...