Rumpum

Rumpum Advertisement

नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो

नेपालमा कोरोना सङ्क्रमण दर बढ्दो

विराटनगर, ६ भदौ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ ।

देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन ।

शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा थप ८३८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताए । योसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।

सङ्क्रमितको तुलनामा दैनिक निको हुनेको सङ्ख्या भने कम छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १८ हजार २१४ पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् भने होम क्वारेन्टाइनमा मात्रै तीन हजार ५८६ जना छन् । मन्त्रालयका अनुसार यस्तै पछिल्लो समय काठमडौँमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो हो । प्रवक्ता डा. गौतमले एक महिला र १० पुरुष गरी थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए ।

काठमाडौँ, मोरङ, पर्सा, बारा सप्तरी, चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका सङ्क्रमितको मृत्यु भएको उनले बताए । कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ