कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

विराटनगर, ६ भदौ । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ”

वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई÷चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ । समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने छ ।

बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको छ ।

कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपैयाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क रहेको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपैयाँका लागि छ सय र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ शुल्क लाग्छ । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था छ ।

दाबी गरेको सात दिनभित्र बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । दाबी भुक्तानीका लागि पीसीआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...