लुकाकुद्वारा रोनाल्डोको रेकर्ड बराबरी

एजेन्सी, ६ भदौ । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुले ब्राजिलियन लिजेन्ड रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् ।

युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा पेनाल्टीमा गोल गरेका बेल्जियन स्टार लुकाकुले रोनाल्डोको रेकर्डसँग बराबरी गरेका हुन् ।

फाइनल खेलमा सेभिल्लाविरुद्ध लुकाकुले पेनाल्टीमा एक गोल गरेका थिए । खेलको पाँचौं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो । सेभिल्लाका डिएगो कार्लोसले लुकाकुलाई डी एरियामै लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो ।

जसमा गोल गर्दै लुकाकुले इन्टरको इतिहासमा डेब्यू सिजनमै ३४ गोल गर्ने रोनाल्डोको रेकर्डसँग बराबरी गरे ।

यसअघि पाँच वर्ष इन्टरबाट खेलेका रोनाल्डोले डेब्यू सिजनमै ३४ गोल गर्दै रेकर्ड बनाएका थिए । उनले १९९७–९८ को सिजनमा ४७ खेलबाट ३४ गोल र पाँच असिस्ट गरेका थिए ।

यता, लुकाकुले भने २०१९–२० को सिजन ५१ खेलबाट ३४ गोल र ६ असिस्ट गरे ।

२७ वर्षीय लुकाकु इंग्लिस क्लब म्यानेस्टर युनाइटेडबाट इटाली आएका हुन् ।

लुकाकुले रोनाल्डोको कीर्तिमान बराबरी गरेको खेलमा इन्टर पराजित भएको हो । इन्टरलाई हराउँदै सेभिल्लाले छैटौं युरोपा लिगको उपाधि जितेको छ ।

शुक्रबार राति भएको फाइनल खेलमा इन्टरलाई ३–२ गोलले हराउँदै सेभिल्लाले उपाधि जितेको हो ।

Loading...