युरोपा लिग फाइनल : पहिलो हाफमा इन्टर र सेभिल्लाको बराबरी

एजेन्सी, ६ भदौ । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनल खेलमा स्पेनिस क्लब सेभिल्ला र इटालियन क्लब इन्टर मिलानले खेलिरहेका छन् ।

जर्मनीको रेइन इनर्जी स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका छन् ।

सेभिल्लाका लागि दुवै गोल लुक डी योङले गरेका हुन् भने इन्टरका लागि रोमेलु लुकाकु र डिएगो गोडिनले समान एक–एक गोल गरेका हुन् ।

खेलमा इन्टरले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो ।

सेभिल्लाका डिएगो कार्लोसले लुकाकुलाई डी एरियामै लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो । जसमा, लुकाकुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । बेल्जियन स्टार लुकाकुले जारी सिजनको ३४औं गोल गरे ।

खेलको १२औं मिनेटमा डी योङले गोल गर्दै सेभिल्लालाई बराबरीमा फर्काए । यस्तै खेलको ३३औं मिनेटमा डी योङले दोस्रो गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । डी योङले दुवै गोल हेडिङमार्फत गरेका थिए ।

खेलको ३५औं मिनेटमा गोडिनले गोल गदै इन्टरलाई बराबरीमा फर्काए ।

यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । सेभिल्ला छैटौं पटक युरोपा लिगको उपाधि जित्ने दौडमा छ भने इन्टर चौथो पटक उपधि उचाल्ने दाउमा छ ।

Loading...