झापाका चार पालिकामा निषेधाज्ञा

झापा, ५ भदाै । समुदायस्तरमा कोरोना फैलिन थालेपछि नियन्त्रणका लागि झापाको चारवटा पालिका वडाहरूमा निषेधाज्ञा जारी भएको छ ।

झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।

मेचीनगर नगरपालिकाको ६, ७ र ८ मा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाको सबै वडामा भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

कमल गाउँपालिका ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको छ ।

गौरीगञ्जको ३, ४, ५ र ६ वडामा अर्को सूचना नभइञ्जेलसम्मलाई निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा क्षेत्रको पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

झापामा विहीवारसम्ममा कोभिड १९ का ४७५ जना सङ्क्रमित फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईले बताए । रासस

Loading...