विराटनगरको कोभिड-१९ अस्पताललाई लेभल २ मा स्तरोन्नति गरिने

विराटनगर, ५ भदौ । प्रदेश सरकारले विराटनगरस्थित कोशी कोभिड १९ अस्पताललाई लेभल २ मा स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड अस्पताललाई लेभल २ मा स्तरोन्नति गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले विज्ञहरूसँग छलफल र परामर्शपछि कोभिड अस्पताललाई लेभल २ मा स्तरोन्नति गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रक्रिया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश सरकारको प्रदेशस्तरीय अत्याधुनिक प्रयोगशाला स्थापना गर्नका लागि स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गा प्रदेश प्रयोगशालाको नाममा प्राप्त गर्नका लागि स्वीकृति दिएको छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा केही अनौपचारिक समीक्षा पनि भएको मन्त्री कार्कीले जानकारी दिए । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको काम कारवाहीको समीक्षा गर्दा जनअपेक्षाअनुरुप नै भएको पाइएको उनले बताए ।

Loading...