अमेरिकामा ७५ करोड लामखुट्टे प्रकृतिमा छोडिँदै

विराटनगर, ५ भदौ । अमेरिकाको फ्लोरिडामा ७५ करोड जेनेटिकल्ली मोडिफाइड लामखुट्टेलाई प्रकृतिमा छोडिने भएको छ ।

फ्लोरिडाका अधिकारीहरूले सन् २०२१ मा फ्लोरिडाका केही टापुहरूमा ७५ करोड लामखुट्टे छोड्न अनुमति दिएका हुन् ।

स्थानीय प्रजातीको लामखुट्टेको सङ्ख्यालाई कम गर्न वंशाणुगत संरचनामा परिवर्तन गरिएका लामखुट्टे प्रकृतिमा छोडिने अनुमति दिइएको हो ।

यसले डेङ्गी र जीका भाइरसजस्ता रोग सार्ने लामखुट्टेको सङ्ख्या कम गर्ने त्यहाँका अधिकारीहरूले अपेक्षा राखेका छन् ।

गत मे महिनामा अमेरिकी वातावरणीय निकायले ब्रिटिश-अमेरिकी अक्सिटेक कम्पनीलाई एक प्रजातिको भाले लामखुट्टेलाई वंशाणुगत संरचनामा परिवर्तन गरेर उत्पादन गर्न स्वीकृति दिएको थियो ।

स्वीकृत प्रजाति डेङ्गी, जीका र अन्य खतरनाक रोगहरू सार्ने एडीज प्रजाति हो । छोडिएका भाले लामखुट्टेले प्रकृतिमा रहेका पोथीसँगको सम्बन्धबाट थप लामखुट्टे जन्माउने छन् ।

भालेले फूलको रस चुस्ने गर्छ भने पोथी लामखुट्टेले अण्डा पार्न आवश्यक रगतका लागि मानिसलाई टोक्छन् ।

तर, ती भालेमा रहेको एक प्रकारको प्रोटिनका कारण जन्मिएका पोथी लामखुट्टेहरूले मानिसलाई टोक्नसक्ने अवस्थामा पुग्नु अगाडि नै मर्ने बताइएको छ ।

भाले लामखुट्टेको जीन अर्को पुस्तामा पुग्नेछ भने बिस्तारै पोथी लामखुट्टेको संख्या घट्दै जाने छ । यसले गर्दा मानिसहरूमा डेंगु, जिका, चिकनगुनिया जस्ता रोग पनि घट्दै जानेछ ।

वर्षौँसम्म विवादास्पद रहेको यो योजनालाई कतिपय वातावरणवादी समूहहरूले यसले गर्दा वातावरणीय चक्रलाई असर गर्नुका साथै, झन् जोखिम बढाउने लामखुट्टे विकास हुनसक्ने भन्दै विरोध गरिरहेका छन् ।

तर, संलग्न कम्पनीले लामखुट्टेलाई प्रकृतिमा छोड्दा मानिस र वातावरणलाई केही नराम्रो असर नगर्ने दाबी गरेको छ ।

यसअघि ब्रजिलमा जीका भाइरस नियन्त्रण गर्नका लागि यस्तै लामखुट्टे छोडिएको थियो ।

Loading...