आईसियू र भेन्टिलेटर सञ्चालन भएकै दिन होम आइसोलेशनमा संक्रमितको ज्यान गयो

विराटनगर, ५ भदौ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र स्थापना भएको पाँच महिनापछि बिहीबार प्रदेश १ सामाजिक विकास मन्त्रालयले १० बेडको आइसियू र पाँचवटा भेण्टिलेटर तयारी अवस्थामा रहेको बतायो ।

तर, भेण्टिलेटर जडान भएकै दिन उपचार अभावमा कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । विराटनगर–६ सरोचियाका ४५ वर्षीय पुरूषकाे मृत्यु भएको हो । मृतकमा मधुमेहको समस्या थियो ।

बुधबार संक्रमण पुष्टि भएपछि आफन्तले आइसोलेशन बेड खोजे । तर, कतै पाएनन् । बेड नपाएपछि उनी घरमै थिए । बिहीबार राति एक्कासी स्वास्थ्य अवस्था खराब भएपछि आफन्तले एम्बुलेन्स बोलाए । एम्बुलेस नआउँदै मृत्यु भएयो ।

मृत्यु राति भएपनि वडा अध्यक्ष विजय कामतलाई बिहान मात्रै जानकारी आएको थियो । ‘संक्रमित व्यक्ति होम आइसोलेशनमा हुनुहुन्थ्यो,’ उनले भने, ‘बिहीबार राति नै मृत्यु भएको रहेछ । आज बिहान आफन्तले घाट लैजाने तयारी गर्दैगर्दा पुगेर रोकेँ ।’

संक्रमित व्यक्तिको शव सेनाले नै अन्त्यष्टि गर्ने भएकाले परिवारलाई रोकेर शव सेनाको जिम्मा लगाएको उनले बताए ।

दीर्घरोगीलाई उपचारमा चासो दिइएन

मृतककी छोरीका अनुसार बुबा केही महिनायता बिरामी थिए । स्वास्थ्यमा अवस्था बिग्रँदै गएपछि सोमबार कोशी अस्पताल लगे । अस्पतालले कोरोना जाँच गर्नुपर्छ भन्दै स्वाब संकलन गरेर पठायो । बुधबार उनको पोजेटिभ रिपोर्ट आयो । तर संक्रमितलाई व्यवस्थापनको जिम्मा पाएको महानगरपालिकाले बेड अभाव भन्दै घरमै बस्न भन्यो ।

बिहीबार विहान प्रदेश १ समाजिक विकास मन्त्री जीवन घिमिरेले आइसियू र भेण्टिलेटर जडान भएको उद्घोष गरे । तर रोगले ग्रसित संक्रमित व्यक्तिलाई घरमै राखियो । ‘बुबालाई कोरोना लाग्यो भने तर कतै लगेनन्,’ मृतककी छोरीले भनिन्, ‘हिजो साह्रो भएपछि एम्बुलेन्स बोलायौं, तर बुबा बितेपछि एम्बुलेन्स फर्कियो ।’

केही महिनायता घरमै बसिरहेका उनलाई संक्रमणको स्रोत देखिएको छैन । ‘हामीलाई अन्तिम संस्कार गर्न पनि दिएनन्,’ छाेरीले भनिन्, ‘हाम्रो पनि कोरोना जाँच गर्छन् अरे ।’

Loading...