कोरोना महामारीका कारण घरमै सीमित भयो तीज

विराटनगर, ५ भदौ । विराटनगर ६ बस्ने एलिजा दाहाललाई यो पटकको  तीज खल्लो लागिरहेको छ । नलागोस् पनि कसरी, कोरोना संक्रमणको जोखिमका कारण लकडाउनमा रहेको विराटनगरबाट उनी माइती जान पाइनन् ।

‘भीडभाड हुने भएकाले मन्दिर सबै बन्द छन्,’ उनले भनिन्, ‘यसपालिको तीज घरमै पूजा गरेर मनाउँदैछु ।’

तीजको अगाडिदेखि नै  दर खाने, नाच्ने गाउने, साथी र आफन्त भेला भएर रमाइलो गर्ने परम्परा थियो । कोरोना संक्रमण जोखिमका कारण तीज खल्लो भएको उनले बताइन् ।

भेट गर्न नपाएका कारण फोनमार्फत तीजको शुभकामना दिएको उनले बताइन् ।

तीजको दिन गाउँघरमा हुने नाँचगानको कार्यक्रम सम्झिँदै उनले भनिन्, ‘मन्दिरमा सबै भेला भएर पूजा गर्दा, रमाइलो गर्दा दिन बितेको पत्तै लाग्दैन थियो । तर, यसपालिको तीज कोरोनाको कारण खल्लो भएको छ ।’

विराटनगर मधुमाराकी अञ्जु श्रेष्ठ तीजको रौनक नभएपनि सतर्क भएर धर्म संस्कृति जोगाउनु पर्ने बताउँछिन् । तीजमा आफू ब्रत नबसेपनि घर छेउको मन्दिर गएको बताउँदै उनले भनिन्, ‘मन्दिरमा पहिले जस्तो भीड पनि छैन, सामाजिक दुरी र सावधानीका साथ पूजा गरेर आएँ ।’

विराटनगर, कृषि भवन पछाडि घर भएकी कृपा थापाको बिहेपछिको पहिलो तीजमा कोरोनाको डर भएपनि पहिलो भएको कारण निकै रमाइलो भएको बताउँछिन् । ‘गत महिना मात्र माइती आएको थिएँ,’ उनले भनिन्, ‘पहिलो तीज परिवारसँग संगै भएपनि जसको लागि ब्रत बसेको उहाँ नै टाढा हुनु भएको कारण खल्लो पनि लागिरहेको छ ।’

विराटनगर ८, मधुमारा निवासी कामना खड्काको पनि यो पहिलो तीज हो । अविवाहित भएपनि पहिलो पल्ट तीजमा ब्रत बस्दा उत्साहित बनेकी उनी कोरोनाको त्रासका कारण मन्दिर गइनन् । ‘घरमै पूजा गरेर तीज मनाउँनु पर्दा तीज फिक्का छ,’ उनले भनिन् ‘पहिले एक महिना अगाडिदेखि विभिन्न स्थानमा दर खाने कार्यक्रम हुन्थ्यो । यो पटक भएन ।’

तीजको विशेषता दर खाने मात्र होइन । दिदी-बहिनी, आफन्त  भेटघाट गर्ने, मन्दिर गएर शिव पार्वतीको पूजापाठन गर्नेदेखि धेरै सङ्ख्यामा भेला भएर नाँचगान गर्दै रमाइलो गर्नु पनि हो ।

तीजमा मन्दिर जान नपाउँदा, धेरै भेला भएर नाँचगान गर्न नपाउँदा खासै रमाइलो महशूस गर्न नपाइने महिलाहरूको तर्क छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज हिन्दू धर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गरी मनाउने गर्छन् ।

तीजमा भगवान शिवको पूजा आराधना गरेपछि शिव मन्दिरहरूमा नाचगान गरेर रमाइलो गर्ने परम्परा थियो । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला गर्न सरकारले रोक लगाएको छ ।

कोरोनाको बढ्दो सङ्क्रमणबाट बच्नका लागी यसपालि महिलाहरू घरमा सुरक्षित साथ बसेर तीज पर्व मनाउँदै छन् ।

कोरोनाबाट बच्न र बचाउन मास्क लगाउनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिर, मेला र किनमेलमा बढी भीडभाड गर्न नमिल्ने कारण यसपटकको तीज एउटा घरमा वा एउटा कोठा र टेलिभिजन, इन्टरनेटमा सीमित हुन पुगेको छ ।

Loading...