कोइम्यानसँग पनि मेस्सीले गरे क्लब छोड्ने संकेत

एजेन्सी, ५ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानसँगको बैठकमा पनि क्लब छोड्ने संकेत गरेका छन् । बिहीबार डच प्रशिक्षक र अर्जेन्टिनी स्टार मेस्सी आकस्मिक रूपमा बैठक बसेका थिए ।

जसमा, मेस्सीले आफ्नो भविष्य क्लबभित्र भन्दा पनि क्लबबाहिर रहेको उल्लेख गरेको ‘आरएसी वान’ मिडियाले जनाएको छ । पछिल्लो समय क्लबको खस्कँदो प्रदर्शनका कारण निराश रहेका मेस्सी क्लब छोड्ने अडानमा रहेको बताइन्छ ।

पोर्चुगलको लिस्बोनमा च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हार ब्यहोरेपछि मेस्सी क्लब छोड्ने योजनामा रहेको बताइन्छ । तर, कोइम्यानसहित बार्सिलोनाको टोलीले भने उनलाई फकाइरहेको छ ।

यस्तैमा मेस्सीलाई फकाउनकै लागि कोइम्यानले मेस्सीसँग ‘वान टू वान’ बार्ता गरेका थिए । मेस्सी हिजो नै बिदा मनाउन क्याटलान शहर छोड्ने योजनामा थिए । तर, कोइम्यानले आकस्मिक रूपमा मेस्सीसँग बैठक बस्ने जनाएपछि बिदाका लागि निस्कन लागेका उनी भ्रमण स्थगित गर्दै बैठकमा बसेका थिए ।

सो बैठकमा उनले कोइम्यानसँग क्याप नोउ छोड्ने अडान पुनः दाेहाेर्‍याएको खबरमा जनाइएको छ । बार्सिलोना भने उनलाई क्लब छोड्न नदिने पक्षमा रहेको छ ।

बार्सिलोनाले आगामी सिजनका लागि मेस्सीको वरिपरि युवा खेलाडीको साथ हुने गरी टिम बनाउने योजनामा रहेको बताइन्छ ।

Loading...