डिपे भित्र्याउने कोइम्यानको चाहना

एजेन्सी, ५ भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले लियोनका कप्तान मेम्फिस डिपे भित्र्याउन चाहेको बताइएकाे छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिभो’का अनुसार नेदरल्याण्डका प्रशिक्षक कोइम्यानल आफ्नो देशका स्टार डिपे अनुबन्ध गर्न चाहेका हुन् ।

बुधबार मात्र आधिकारिक रूपमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका उनले सम्भावित सरुवाको विषयमा क्लब बोर्डसँग छलफल गरेका थिए ।

जसमा, उनले डच स्टार डिपेलाई आफ्नो टोलीमा अनुबन्ध गर्न चाहेको खुलाएको खबरमा जनाइएको छ ।

उनले उरुग्वेका स्टार लुइस स्वारेजको स्थानमा डिपे भित्र्याउन खोजेको जनाइएको छ । यदि, स्वारेजले बार्सिलोना छोडेमा उनको स्थानमा आगामी सिजन डिपे भित्र्याउने उनको योजना छ ।

स्वारेज पछिल्लो केही समययता डच क्लब आयाक्ससँग जोडिएको चर्चा छ ।

यता, डिपे र लियोनबीचको सम्झौता २०२१ सम्म रहेको छ । फ्रेन्च क्लब लियोनले पनि उनको मूल्य ५५ मिलियन युरो तोकिसकेको छ । डिपेले अर्को समरसम्ममा लियोन छोड्ने आँकलन गरिएको छ ।

Loading...