पीएसजीसँग भिड्नुअघि बायर्नका खेलाडीले गरे एम्बाप्पेको प्रसंशा

एजेन्सी, ५ भदौ । बायर्न म्युनिखका स्टार किंग्स्ले कोमानले राष्ट्रिय टोलीका सहकर्मी तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार किलियन एम्बाप्पेको प्रशंसा गरेका छन् ।

च्याम्पियन्स लिगको उपाधिका लागि भिड्नुअघि फ्रेन्च स्टार कोमानले एम्बाप्पेको तारिफ गरेका हुन् ।

आइतबार युरोपियन क्लब फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा खेल हुँदैछ । पोर्चुगलको लिस्बोनमा उपाधिका लागि जर्मन च्याम्पियन बायर्न र फ्रेन्च च्याम्पियन पीएसजीले प्रतिस्पर्धा गर्नेछन् ।

लिस्बोनस्थित स्टाडियो डा लुजमा हुने फाइनल भिडन्त नेपाली समयानुसार २३ अगस्ट राति १२ः४५ बजेबाट सुरु हुनेछ । जसमा, दुवै क्लब एक–अर्कालाई हराउँदै युरोपियन च्याम्पियन बन्ने दाउमा हुनेछन् ।

सो खेलअघि बोल्दै कोमानले एम्बाप्पेले खेललाई फरक बनाउन सक्ने भन्दै उनको प्रशंसा गरेका हुन् । ‘मैले उनका साथमा केही समय खेलेको छु,’ कोमानले बिहीबारको पत्रकार सम्मेलेनका क्रममा भने ।

‘प्रशिक्षकहरूसँग उनका केही भिडियोहरू होलान् । उनी त्यस्ता खेलाडी हुन्, जसले मेस्सी जस्तै अवसर सिर्जना गर्न सक्छौं । जसको सामना हामीले क्वार्टरफाइनलमै गरेका थियौं । त्यसरी नै एम्बाप्पेले खेललाई फरक बनाउन सक्छन् । यसैले हामीले उनलाई सम्भव भएसम्म रोक्नु पर्छ,’ उनले भने ।

Loading...