Rumpum

Rumpum Advertisement

यी रेफ्रीले खेलाउँदै छन् च्याम्पियन्स लिगको फाइनल खेल

यी रेफ्रीले खेलाउँदै छन् च्याम्पियन्स लिगको फाइनल खेल

एजेन्सी, ५ भदौ । युरोपियन क्लब फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल आइतबार हुँदैछ ।

पोर्चुगलको लिस्बोनमा उपाधिका लागि जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गर्नेछन् ।

लिस्बोनस्थित स्टाडियो डा लुजमा हुने फाइनल भिडन्त नेपाली समयानुसार २३ अगस्ट राति १२ः४५ बजेबाट सुरु हुनेछ । जसमा, दुवै क्लब एक–अर्कालाई हराउँदै युरोपियन च्याम्पियन बन्ने दाउमा हुनेछन् ।

यस पटकको च्याम्पियन्स लिगको फाइनल खेल इटालियन रेफ्री डेनियल ओर्साटोले खेलाउने पक्का भएको छ ।

युरोपेली फुटबल महासंघ (यूईएफए) को रेफ्री कमिटीले ओर्साटोलाई २०१९–२० को च्याम्पियन्स लिगको फाइनल खेलका लागि रेफ्रीको जिम्मेवारी सुम्पिएको पुष्टि गरेको छ ।

उनले यस सिजनको च्याम्पियन्स लिगमा आठ खेल खेलाइसकेका छन् । उनी त्यहीँ रेफ्री हुन्, जसले रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई रातो कार्ड दिएका थिए ।

गत फेब्रुअरीमा भएको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियलबीचको खेलमा ४४ वर्षीय रेफ्री ओर्साटोले रामोसलाई मैदानबाहिर पठाएका थिए ।

ओर्साटोलाई लाइन्मेन लोरेन्जो मंगालनेली र एलेक्सान्ड्रो गिलाटीनले सहयोग गर्नेछन् । यस्तै चौथो रेफ्रीका रूपमा रोमनियन ओभिडिउ हेटगन रहनेछन् ।

यस्तै भीएआरतर्फ मासिमिलियानो इराटी रहनेछन् भने उनको सहयोगीका रूपमा मार्को गुइडा, डुओ रोबर्टो डियाज पेरेज डेल पालोमार र एलेजान्द्रो हर्नान्डेज हर्नान्डेज रहनेछन् ।