Rumpum

Rumpum Advertisement

स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान पर्व हरितालिका मनाउन सबैमा आग्रह गरेका छन् ।

राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मनाउन आग्रह गरिन् ।

मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले तीजले समाजमा विद्यमान लैङ्गिक, विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरिन् ।

यस्तै उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरे ।

हरितालिका तिजको अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि अपिल गरे ।