युरोपा लिगको उपाधिका लागि सेभिल्ला र इन्टर भिड्दै

एजेन्सी, ५ भदौ । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा आज उपाधि भिडन्त हुँदैछ ।

नेपाली समायनुसार राति १२ः४५ बजेबाट सुरु हुने फाइनल खेलमा स्पेनिस क्लब सेभिल्ला र इटालियन क्लब इन्टर मिलानले खेल्दैछन् ।

जर्मनीको रेइन इनर्जी स्टेडियममा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् ।

सेभिल्ला छैटौं पटक युरोपा लिगको उपाधि जित्ने दौडमा छ भने इन्टर चौथो पटक उपधि उचाल्ने दाउमा छ ।

सेभिल्ला युरोपा लिगको सर्वाधिक सफल टोली हो, उसले हालसम्म पाँच पटक उपाधि आफ्नो बनाएको छ । पछिल्लो पटक सन् २०१६ मा सेभिला लिग विजेता बनेको थियो ।

१० पटकसम्म लिगको फाइनलमा प्रवेश गरेको इन्टरले भने हालसम्म तीन पटक मात्र उपाधि उचालेको छ । पछिल्लो पटक सन् १९९८ मा इन्टर विजेता बनेको थियो।

यसअघि सेभिल्लाले सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

यता, इन्टर भने युक्रेनको क्लब शख्तर डोनेस्कमाथि ५–० गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

गत वर्षको जुनमा सेभिलाको प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुले लोपेटेगी क्लबलाई आफ्नो कार्यकालको पहिलो उपाधि जिताउने दाउमा छन् भने इन्टरका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टे पनि आफ्नो क्लबले जित्नेमा विश्वस्त छन् ।

Loading...