रुसका विपक्षी नेताको अवस्था गम्भीर

रुसका विपक्षी नेताको अवस्था गम्भीर

विराटनगर, ५ भदौ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

अचेत अवस्थामा कोमामा रहेका उनलाई कसैले विषाक्त वस्तु खुवाएको हुन सक्ने उनकी प्रवक्ताले बताएकी छन् । अस्पतालमा उपचाररत उनको अझै होस आउन सकेको छैन ।

भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो । डाक्टरहरुले नाभाल्नी कोमामा रहेको र जीवन रक्षाका लागि प्रयास गरिहेको बताएका छन् । विमानस्थलको क्याफेमा उनको चियामा कुनै विषालु पदार्थ हालिएको आशंका नाभाल्नीको टिमले गरेको छ ।

४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रहेको र रुस सरकारले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताइएको छ । उनलाई सत्तामा रहेकाहरुले नै विषाक्त पदार्थ प्रदान गरेको आशंका उनको टिमको छ ।

गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेपछि रुस सरकारसँग उनको सम्बन्ध थप चिसिएको थियो ।